राजनीति

काभ्रेलाई स्थायी राजधानी तोक्न प्रस्ताव

मकवानपुर – प्रदेश ३ को स्थायी राजधानी काभ्रेलाई तोक्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ। संविधानको धारा २८८ को उपधारा २ बमोजिम काभ्रेका  चारजना प्रदेश सांसदले काभ्रेको धुलिखेलस्थित आइटीपार्कलाई प्रदेशको राजधानी तोक्न प्रस्ताव गरेका हुन्। सांसद चन्द्रबहादुर लामाको प्रस्तावमा सांसद बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल र रत्नप्रसाद ढकालले समर्थन गरेका हुन्।

प्रदेशको भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधारलगायतका दृष्टिकोणले काभ्रे जिल्लाको बनेपा, पनौति र धुलिखेल नगरपालिकास्थित आइटीपार्क रहेको स्थानमा प्रदेश राजधानी राख्न सांसदहरुले प्रस्ताव दर्ता गरेका हुन्। प्रदेशको केन्द्रबिन्दु, सुगमता, भौतिक पूर्वाधारका हिसावले काभ्रे उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको एमाले सांसद चन्द्रबहादुर लामाले बताए। सांसद लक्ष्मण लम्सालले मंगलबारको प्रदेश सभा बैठकमा राजधानी तत्काल तोक्न माग भएकोले सबैको सहजताको लािग प्रस्ताव दर्ता गरेको बताए।

मंगलबारको प्रदेशसभा बैठकमा बोल्ने अधिकांश सांसदले राजधानी र नाम तत्काल तोक्न सरकार र सभामुखको ध्यानाकर्षण गराएका थिए। स्थायी राजधानीको नभएका कारण भौतिक पूर्वाधार निर्माण नभएको, सांसदको मानसिकता अस्थायी भएको र सरकारले काम गर्न नसकेको भन्दै सांसदहरुले गुनासो गरेका थिए। प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रस्तावबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताए। ‘प्रदेश सभा बैठकका सवै कार्यसूची कार्यव्यवस्था परामर्श समितिले निर्धारण गर्ने हो,’  सभामुख श्रेष्ठले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेर सभामा पेश हुन्छ।’

संविधानको धारा २८८ को उपधारा (२) मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्ने उल्लेख छ। निर्णय नभएसम्म सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्यालय सञ्चालन हुने उल्लेख छ। औपचारिक रुपमा प्रस्ताव दर्ता भएसंगै अब प्रदेश ३ को राजधानीको बिषयले सभामा प्रवेश पाउनेछ।

विषयगत समितिको सभापतिका लागि मनोनयन दर्ता 
प्रदेशसभा अन्तरर्गतका विषयगत समितिको सभापतिको लागि बुधबार मनोनयन दर्ता भएको छ। ५ वटा समितिको लागि प्रदेशसभा सचिवालय हेटौंडामा ५ जनाले मात्र मनोनयन दर्ता गराएका छन्।

कार्यव्यवस्था परामर्श समितिले मनोनित गरेको सदस्यबाट प्रत्येक समितिमा एक÷एक जना सांसदहरुले सभापतिको लागि मनोनयन दर्ता गरेका हुन्। प्रदेश मामिला समितिमा एमालेका माधवप्रसाद पौडेल, अर्थ तथा विकास समितिमा एमालेका सरेश नेपाल, सार्वजनिक लेखा समितिमा काँग्रेसका न्हुच्छेनारायण श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका घनश्याम दाहाल र उद्योग, पर्यटन तथा वातावरण समितिमा एमालेकी रमा आले मगरले मनोनयन दर्ता गरेका हुन्।

प्रत्येक समितिमा एक÷एक जनाले मात्र मनोनयन दर्ता गरेकोले सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित समेत भएका छन्। तर यसको आधिकारिक घोषणा भने बिहीबार बस्ने प्रदेश सभा बैठकले गर्ने छ। प्रदेश सभा नियमावली २०७४ को नियम १४९ को उपनियम (१) बमोजिम विषयगत समितिका सभापतिको उम्मेदवारी दर्ता गरिएको हो।

प्रकाशित: १५ चैत्र २०७४ ०१:२१ बिहीबार

काभ्रेलाई स्थायी राजधानी तोक्न प्रस्ताव