राजनीति

देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने राजनीतिक दलले देश र जनताको समस्या समाधान नभई सत्ताका लागि मात्र समीकरण हुन उचित नरहेको बताएका छन।

प्रतिनिधी सभाको शुक्रबारको  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले जनता र देशको हितविपरीत संसद्मा बहुमत पुगे पनि जनताले स्वीकार नगर्ने समेत बताए।

सांसद सुवालले संसद् हाजिर गर्ने र बोल्ने थलो मात्रै बनेको तर सर्वसाधारणको समस्या सम्बोधन गर्न ध्यान नदिइएको जिकिर गरे। ‘सरकार अस्थिर हुनुका कारण देश र जनताको समस्या समाधान हुनसक्दैन।अनियमितताका घटना र प्रतिवेदन आए पनि दोषीलाई कारबाही हुन सकेको छैन, भ्रष्टाचार बढ्नु चिन्ताको विषय हो’, उनले भने, ‘नेपालसँगको सिमानामा भारतीय अतिक्रमणको समस्या समाधान हुन नसक्नु अर्को चिन्ताको विषय हो । शिक्षालाई उत्पादनशील बनाउन सकिएको छैन । हाम्रो ध्यान सरकार बनाउने र विघटनमा मात्र गइरहेको छ।’

भ्रष्टाचार नरोकिनु, सहकारी ठगी तथा सुन तस्करलाई कारबाही नगर्नु र आयात प्रतिस्थापन नगर्नु दुःखद् भएको भन्दै सुवालले आगामी सरकारले यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन ।

प्रकाशित: २८ असार २०८१ १७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App