राजनीति

सरकारलाई साना दलको पनि ‘अविश्वास’

प्रतिनिधिसभामा रहेका प्रायः सबै साना दलले प्रधानमन्त्री पुष्पकमल दाहालललाई विश्वासको मत नदिने भएका छन्। मधेसकेन्द्रित सबै दलहरू दाहालको प्रस्तावको विपक्षमा उभिने भएका हुन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल र त्यसबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले पनि दाहाललाई साथ नदिने भएका छन्। जसपा नेपालका नेताहरूले प्रधानमन्त्री दाहालले जसपा फुटाएको आरोप लगाउँदै विश्वासको मत नदिने घोषणा गरिसकेका छन्।

‘प्रधानमन्त्रीले खुला रूपमा जसपालाई मैले फुटाएको हुँ भन्नुभएको छ। हाम्रो पार्टी फुटाउनेलाई हामीले किन विश्वासको भोट दिने?’ जसपा नेपालका प्रवक्ता मनीष सुमनले भने, ‘हाम्रो लाइन प्रस्ट छ, दाहाल सरकार ढाल्ने विषयमा हाम्रो सहयोग समर्थन रहन्छ ।’

दाहालले फुटाएर बनाएको जसपाले समेत उनलाई सहयोग नगर्ने भएको छ। जसपा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको थियो। तर यो पार्टीका मन्त्रीले राजीनामा दिइसकेको छन् ।

जसपा नेपालका नेता इस्तियाक राईले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय पार्टीले गरिसकेको बताए। ‘नयाँ बन्ने सरकारले संविधान संशोधनको मुद्दा अघि सारेको छ। हाम्रो अजेन्डा पनि संविधान संशोधन हो,’ राईले भने, ‘त्यसैले हामी दाहाल सरकारको पक्षमा छैनौं, नयाँ बन्ने सरकारको पक्षमा उभिएका छौं ।’

प्रतिनिधिसभामा जसपा नेपालका पाँच र जसपाका सा सांसद छन। जसपा विभाजनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

यसैगरी प्रतिनिभिसभामा ६ सिट रहेको जनमत पार्टीले पनि दाहाललाई साथ नदिने भएको छ। जनमत पार्टीका प्रवक्ता डा.शरत्सिंह यादवले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको बताए। ‘मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र एमालेले हामीलाई साथ दिएका छन्। त्यसैले केन्द्र सरकारमा पनि हामीले एमाले र कांग्रेसलाई साथ दिने भएका छौं,’ उनले भने।

त्यस्तै प्रतिनिधिसभामा चार सिट भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि दाहाललाई साथ नदिने भएको छ। लोसपाका नेता मनिष मिश्रले प्रधानमन्त्रीले विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा पार्टी उभिने बताए।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पनि केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी आफ्नो पार्टीले दाहाललाई विश्वासको मत नदिने जनाउ दिइसकेका छन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ भने दाहाललाई साथ दिने/नदिने विषयमा प्रष्ट बोलेकी छैनन्। यस विषयमा सोधिएको जिज्ञसामा उनले स्पष्ट जवाफ दिइनन्।

प्रतिनिधिसभामा १४ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने भएको छ। प्रतिनिधिसभामा १० सिट भएको नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जनाएको छ ।

प्रकाशित: २८ असार २०८१ ०७:४५ शुक्रबार

#Prime Minister Pushpa Kamal Dahal #House of Representatives