राजनीति

ट्रेड युनियन आन्दोलन घेराबन्दीमा छः अध्यक्ष कुँवर

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न समस्या र घेराबन्दीमा रहेको बताएका छन्। नेपाल ट्रेड युनियन काँग्रेसको रणनीतिक कार्ययोजना बैठकपछि कुराकानी गर्दै अध्यक्ष कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न प्रकारका समस्या र घेराबन्दीमा रहेको बताएका हुन्। 

उनले श्रमिकहरुको हक, अधिकार र सेवा, सुविधाको लागि थप आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए। उनले आफूहरुको बैठकमा आएका प्रतिनिधिहरुले पनि ट्रेड युनियन आन्दोलनलाई जारी राख्नुपर्ने धारणा राखेका जानकारी दिए। उनले श्रमिकहलाई विगतको जस्तो समस्या नपरेका कारण ट्रेड युनियनप्रति श्रमिकहरुको आकर्षण घटेको पनि बताए।

उनले भने,‘हिजो श्रमिकहरुको न्युनतम ज्यालाको कुनै टुंगो थिएन। सामाजिक सुरक्षाको कुनै टुङ्गो थिएन र नियुक्ति पत्र, रोजगार सम्बन्धको कुनै टुंगो थिएन। हाम्रो कार्यक्षेत्र असुरक्षित थियो । हिजोको तुलनामा धेरै खालका सुधारहरु गरेका छन्। नीतिगत व्यवस्था कानूनी व्यवस्था र पूर्वाधारहरु बनाएका छौँ। ट्रेड युनियन अधिकारबाट प्राप्त हुनुपर्ने सुविधाहरु सहज ढंगले प्राप्त गर्ने वातावरण बनेको छ। 

त्यसो हुनाले ट्रेड युनियनप्रति उहाँहरुको आकर्षण घटेको हुनसक्छ । ट्रेड युनियन आन्दोलनमा पनि केही प्रश्नचिन्ह लागेको छ। कतिपयले ट्रेड युनियन आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा लिएका छन्। 

राजनीतिक आन्दोलनप्रतिको जुन किसिमको वितृष्णा छ, त्यसको सिकार ट्रेड युनियन आन्दोलन हुनुपरेको छ।’ यस्तै,उनले ट्रेड युनियन आन्दोलनलाई राजनीतिक आन्दोलनमा रुपमा बुझिँदा पनि ट्रेड युनियन आन्दोलन राजनीतिको शिकार हुनुपरेको बताए। 

प्रकाशित: २७ असार २०८१ ०९:३४ बिहीबार

#congress #Nepal Trade Union