राजनीति

रास्वपा नेता कार्की लेख्छन्: ‘मुकुल क्लब’बाट बाहिरिएकोमा बधाई सभापतिज्यू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछाने ‘मुकुल क्लब’बाट बाहिरिएको टिप्पणी गरेका छन्।

रास्वपा केन्द्रीय समिति बैठकले मंगलबार निलम्बित महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकाललाई बर्खास्त गरेपछि केन्द्रीय सदस्य कार्कीले यस्तो टिप्पणी गरेका हुन्।

‘हात्ती बाँधिएको देख्दा छक्क पर्थेँ। सोच्थेँ, यति सानो सिक्रीमा कसरी हात्ती बाँधिएर बस्न सक्छ ?,’  कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्,‘त्यस्तै कुरा म रास्वपामा देख्थेँ। पार्टीको आन्तरिक जीवनमा महामन्त्रीसँग सभापति यसरी नतमस्तक हुनुको कारण खोज्थेँ, भेट्दिन थिएँ।’

विधान अनुसार स्वतन्त्र भएर महामन्त्रीलाई काम गर्न दिनुपर्ने र  त्यसको स्वामित्व लिनु नै सभापति लामिछानेका लागि सहि हुने आफूले महशुस गर्ने गरेको कार्कीले लेखेका छन्। उनले अगाडि लेखेका छन्, ‘तर महामन्त्री प्रतिको असीमित लगावले त्यस्तो मात्र देखिन्न थियो, सभापतिलाई सिक्रीमा बाँधिएको हात्ती जस्तो देखिन्थ्यो।’

पार्टीभित्रको त्यो सिक्री ‘आज टुटेको’ कार्कीको टिप्पणी छ। ‘बन्द कोठाको चुकुल खुलेको छ। ‘मुकुल क्लब’बाट निस्किएर पूर्णरुपमा स्वतन्त्र हुने बाटोमा लाग्नु भएकोमा बधाई छ, सभापतिज्यू !,’ उनले लेखेका छन्।

पार्टीका अन्य सदस्यलाई समेत यहाँभन्दा धेरै आन्तरीक कुरा भन्नुपर्ने समेत कार्कीले उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘महाधिवेशनमा वा पार्टीका औपचारिक कार्यक्रममा भनौंला। अहिलेलाई ढुक्क हुनुहोस्, यो भोग्नै पर्ने थियो। अब नदोहोरिने वातावरण बनाउन बल गरौँ।’

प्रकाशित: २५ असार २०८१ १७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App