राजनीति

कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्री दाहालको पनि हित हुन्छ: योगेश भट्टराई

फाइल तस्बिर

नेकपा (एमाले) का सचिव एवं पूर्व मन्त्री योेगेशकुमार भट्टराईले कांग्रेस–एमाले सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहालको हित हुने बताएका छन् ।

शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्‍याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री दाहालले दुई ठुला दलबिचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको उनको जिकिर थियो ।

सोमबार सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरूले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि स्पष्ट पारे । उनले कांग्रेस–एमालेबिचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनका बाटोमा आफूहरूलाई साथ दिने तर्क गरे ।

सचिव भट्टराईले नयाँ सत्ता समीकरणसँग टाढिएर प्रधानमन्त्री दाहालले अन्यत्रैबाट अघि बढ्ने बाटो नभएको दाबी समेत गरे । उनले प्रधानमन्त्री दाहाल अहिले रिसाएको अवस्थामा रहेकाले आफूहरूले जिस्क्याउन नचाहेको पनि बताए ।

नेकपा (एमाले) का सचिव भट्टराईले प्रधानमन्त्री दाहालको व्यक्तित्वका कारण आफूहरूले सानो दल भएर पनि प्रधानमन्त्रीमा स्वीकार गरेको पनि उल्लेख गरे । 

प्रकाशित: २४ असार २०८१ १८:२७ सोमबार

#Yogesh Kumar Bhattarai #Congress-UML cooperation