राजनीति

नेकपा एसले पहिले २९९ केन्द्रीय सदस्य टुङ्ग्याउने, त्यसपछि मात्रै पदाधिकारी

नेकपा एकीकृत समाजवादीले पहिले २९९ केन्द्रीय सदस्य चयन गरेपछि मात्रै बाँकी पदाधिकारी छनोट गर्ने भएको छ।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै पार्टी निवर्तमान उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो बताएका हुन्।

‘केन्द्रीय समितिलाई पूर्णता दिन थप छलफल गर्नुपर्ने भएकाले भोलि९आइतबार० ११ बजे बैठक बस्नेछौँ,’ उनले भने,‘२९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउनेछौँ ।’ बैठकले नयाँ पदाधिकारी चयन नभएको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै पदाधिकारीलाई साविकको जिम्मेवारी सम्हाल्ने अधिकार दिएको पनि उनले बताए।

यस्तै बैठकले १० औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेकाले देशव्यापी रूपमा कार्यकर्तामा उत्साह पैदा भएको निष्कर्ष निकालिएको नेता खतिवडाले बताए । उनले भने, ‘महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको छ । समूहगत छलफलमा प्रतिनिधिहरूले उत्साहपूर्ण ढंगले छलफल गरेका छन् । महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । यसका कारणले देशव्यापी रुपमा कार्यकर्तामा धेरै ठुलो उत्साह पैदा भएको छ ।’ 

यस्तै शनिबारको बैठकमा महाधिवेशनले अनेकौँ आशङ्का चिर्दै विद्रोहबाट निर्माण भएको पार्टीको सम्पूर्ण काम, गतिविधि, क्रियाकलाप र नीतिहरूको अनुमोदन गरेको समेत निष्कर्ष निकालेको उनले बताए । बृहत् समीक्षा भने आगामी बैठकमा गर्ने निर्णय भएको खतिवडाले बताए ।

असार १६ गतेबाट सुरु भएको नेकपा एसको महाधिवेशन शुक्रबार सकिएको थियो। महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवमा पुरानै अनुहार माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाललाई सर्वसम्मत दोहोर्‍याएको थियो । यस्तै ९३ जना केन्द्रीय सदस्य मात्रै छानिएका थिए। बाँकी पदाधिकारी र सदस्य थप छलफल गर्दै टुङ्ग्याउने भनिएको छ।

प्रकाशित: २२ असार २०८१ १७:२६ शनिबार

#CPN Unified Socialist #Madhav nepal