राजनीति

रवि लक्षित रावलको व्यंग्यः आजकाल सोध्न पाइदैन, पार्टीबाटै निकाल्दिन्छन्

टेलिभिजन हेर्दा नेपालै उथलपुथल भएर अलोकतन्त्र धर्तीमुनी पस्लाजस्तो थियो, सतहमा आउँदा काण्डैकाण्ड

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै नयाँ दलमा पनि प्रश्न सोध्न नपाइने अवस्था रहेको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्।

‘हुन त आजकाल सोध्न पनि पाइँदैन। भर्खर एउटा नयाँ पार्टी आएको उनकै महासचिव (महामन्त्री) ले के-के सोध्यो भनेर पार्टीबाटै निकालिदिएछ,’ रावलले भने, ‘भन्ने बेला भयंकर लोकतन्त्र हामी ! ए यस्तो लोकतन्त्र ?’

रास्वपा सभापति रवि लामिछानेकै विषयमा टिप्पणी गर्दै नेता रावलले टेलिभिजनमा सुन्दा नेपाल नै उथलपुथल गर्ने बोली सुनिएको र सतहमा आउँदा काण्डै काण्ड देखिएको बताए।

उनले भने, ‘त्यो स्वर टेलिभिजनमा सुन्दा त मानौँ की नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्नेकुरा जम्मै धर्ती मुनि पस्ला जस्तो। भरे माथि सतहमा आउँदा नागरिकता हेरे दुई वटा, राहदानी हेर्दा दुई वटा, अरु के तीन वटा। त्यसपछि गएर ठगी।’

यस्ता व्यक्तिलाई देशको जिम्मा दिएकामा पनि रावलले आपत्ति जनाए। ‘अनि निजलाई देशको सम्पूर्ण जिम्मा ? म खालि रवि लामिछानेजीलाई मात्रै भन्न चाहन्न  उहाँलाई त्यहाँ राख्ने पनि उत्तिकै जिम्मेवार छन्,’ उनले भने।

प्रकाशित: २२ असार २०८१ १६:४७ शनिबार