राजनीति

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि आगामी वर्षमा पर्याप्त बजेट विनियोजन गर्दै लगिने बताएकी छिन्।

आगामी आर्थिक वर्षमा सो कार्यक्रमका लागि १० करोड मात्रै बजेट विनियोजन गरेकोमा सरकारको चौतर्फी आलोचना भइरहेका बेला मन्त्री शर्माले आगामी वर्षहरूले पर्याप्त बजेटको व्यवस्था गर्ने आश्वासन दिएकी हुन।

 शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायतका विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने तथा भइरहेका नीति र कानुनहरू परिमार्जन गर्ने पनि बताइन ।

मन्त्री शर्माले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुने गरी कानुन परिमार्जन गर्ने बताइन।मन्त्री शर्माले महिला हिंसा अन्त्यका लागि पनि सरकारले विभिन्न खालको जनचेतनामूलक कार्यक्रमलाई विगतदेखि नै निरन्तरता दिँदै आएको पनि स्मरण गराइन । 

प्रकाशित: २१ असार २०८१ १४:३५ शुक्रबार

#Communication and Information Technology Minister Rekha Sharma #Prime Minister's daughter self-reliance program #Next fiscal year