राजनीति

प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्नुपर्छः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्नुपर्ने बताएकी छिन्।

विद्यार्थीहरुलाई तत्काल मेडिकल शिक्षा दिनका लागि पनि प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने उनको तर्क छ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कम खर्चमा मेडिकल कलेज सञ्चालन गर्ने काम प्रादेशिक अस्पतालमा हुने भएकाले पनि आफूले त्यसैलाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको बताइन्।

उनले खर्बभन्दा बढी खर्च लाग्ने भएकाले निर्वाचन क्षेत्र केन्द्रित भएर मेडिकल कलेज खोल्ने काम तत्कालका लागि सम्भव नभएको पनि पटकपटक दोहोर्‍याइन्।

मन्त्री श्रेष्ठले भनिन्, ‘३० करोड भन्दा थोरै लगानी हामीले लगाउने हो भने त्यहाँ अल्रेडी फङसनिङ अस्पताल छ। त्यहाँ प्यासेन्ट छ। चिकित्सा शिक्षा ऐन छ। हाम्रा बच्चाहरुले त्यही पढ्न पाउँछन्। त्यसैले प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर मेडिकल शिक्षा सञ्चालन गर्नेमा हामीले जोड दिनुपर्छ।’

मन्त्री श्रेष्ठले प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर जाने कुरामा पनि सरकारले जोड दिने बताइन्।

प्रकाशित: २१ असार २०८१ १३:१५ शुक्रबार

#Sumana Shrestha #hospital #medical college