राजनीति

एसइई पूरक परीक्षा तयारीका लागि नाम र फोन नम्बर पठाउन विद्यार्थीलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइई पूरक परीक्षा तयारीका लागि नाम र फोन नम्बर पठाउन विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले एसइईको पूरक परीक्षा तयारीका लागि कक्षा लिन नाम र फोन नम्बर पठाउन आग्रह गरेका हुन्।

उनले लेखेका छन्, 'एसइईको पूरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि मैले अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने घोषणा गरेको थिएँ। करिब एक हजार विद्यार्थी भाइबहिनीहरूले हिजैदेखि कक्षा लिन थाल्नु भएको छ। कक्षा लिन चाहनुहुने विद्यार्थी भाइबहिनीहरूले मलाई नाम र मोबाइल नम्बर म्यासेज बक्समा पठाउनुहोला। तपाईहरुको पढाइ राम्रो होस्।'

बिहीबार एमालेको भातृ संगठन अनेरास्वीयु रुपन्देहीले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मान कार्यक्रममा बोल्दै ओलीले शिक्षकहरूमा विद्यार्थीले बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्किएको आरोप लगाएका थिए।

प्रकाशित: २१ असार २०८१ ११:५७ शुक्रबार

#KP Sharma Oli #SEE Exam