राजनीति

चिरिबाबुमाथि अख्तियारको ‘प्रतिशोध’

ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले मन्दिरको जग्गा मिचेर बनाएको कम्पाउन्ड डोजर लगाएर भत्काइदिएको २४ घण्टा नपुग्दै मेयर चिरीबाबु महर्जनलाई अर्को एउटा विषयमा जोडेर बयानका लागि बोलाइएको छ।

ललितपुर महानगरपालिकाले वडा नम्बर १० चाकुपाटस्थित अख्तियारका आयुक्त डा. सुमित्रा अमात्यको घरको कम्पाउन्ड मन्दिरको जग्गा मिचेर बनाइएको भन्दै बुधबार डोजर लगाएर भत्काइदिएको थियो । त्यसको भोलिपल्ट बिहीबार अख्यितारले मेयर महर्जनलाई अर्कै विषय जोडेर बयान दिन आउनू भन्दै चिठी पठाएको हो।

स्रोतका अनुसार अख्यितारमा आयुक्त आमात्यले स्थानीय तहमा अनियिमतासम्बन्धी अुनसन्धान गर्नेे जिम्मेवारी पाएकी छन्। स्रोतका अनुसार २०७८ सालमा ललितपुरको धापाखेलका बाढीपहिरापीडितलाई राहत दिँदा अनियमितता भएको भन्दै मेयर महर्जनविरुद्ध अख्तियारमा बेनामी उजुरी परेको छ। 

महानगरपालिकाले बाढीपहिरोपीडित प्रतिपरिवारलाई दुईदेखि साढे दुई लाख रूपैयाँ राहत दिएको थियो। यसै विषयमा अनियमितता भएको भन्दै परेको बेनामी उजुरीलाई आधार मानेर अख्तियारले मेयर महर्जनलाई बयानका लागि बोलाएको हो। अख्तियारले महर्जनलाई पठाएको चिठीमा धापाखेलका बाढीपहिरोपीडितलाई आर्थिक सहयोग बाँडिएको उजुरी विषयमा अनुसन्धान गर्ने सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएकाले उपस्थित भई सहयोग गर्न अनुरोध गरिएको छ।

महानगर स्रोतका अनुसार अख्तियारको चिठीअनुसार महर्जन बयान दिन जाने भएका छन्। महर्जनका अनुसार अख्तियारले असार २६ र २८ गते बयानको लागि बोलाएको छ। ‘टुंगो लागिसकेको विषयमा अख्तियारले बयानको लागि बोलाएको छ । यो भनेको प्रतिशोध साँधेको जस्तै हो,’ उनले भने।  

आयुक्त अमात्यले सम्पदा क्षेत्र मिचेर अवैध संरचना निर्माण गरेको गुठियारहरूको भनाइ छ। उनीहरूले यसरी आमात्यले बनाएको घरको कम्पाउन्ड भत्काउन महानगरलाई गुहारेका थिए। गुठियारहरूको आग्रहबमोजिम अवैध संरचना भत्काइएको महानगरको भनाइ छ। आमात्यले मन्दिर र पाटी पौवाबीचको जग्गाबाट कम्पाउन्डको गेट निर्माण गरेको स्थानीयको भनाइ छ। त्यस्तो संचरना हटाउन स्थानीयले महानगरसँग माग राखेका थिए।  

स्थानीयका अनुसार अमात्यले उक्त घर डेढ खरिद गरेपछि उनले सँगै रहेको जग्गा पनि हडपेर टहरा र गेट निर्माण गरेको आरोप स्थानीयको छ। उनले मन्दिरको जग्गा अतिक्रमण गरेर घरको बाहिरी पर्खाल बनाएको प्रमाण भेटिएपछि डोजर लगाएर भत्काइएको स्पष्टीकरण महानगरपालिकाले दिएको छ।

प्रकाशित: २१ असार २०८१ ०६:३० शुक्रबार

#Lalitpur Metropolitan Municipality #Mayor Chiribabu Maharjan #Investigation of abuse of authority