राजनीति

आलोचना हुँदा पारदर्शी छलफल खोज्ने ती देउवा, यी ढकाल

देउवाले वाहवाही कमाए, ढकाल कारबाहीमा परे

२०८० साउन २ गते नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै थियो। बैठकमा प्रस्तुत गर्ने अजेन्डा तय गर्न पार्टी सभापति शेरबहादुर देउवाले अघिल्लो दिन पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवासमा डाँकेर छलफल गरेका थिए।

देउवाले फ्याट्ट प्रस्ताव ल्याए–‘बैठक प्रत्यक्ष प्रसारण गरौं।’ अरू नेताहरू अक्क न बक्क भए। प्रायः सञ्चारमाध्यममा आउन नरुचाउने र सार्वजनिक चासोबारे कमै मात्र अभिव्यक्ति दिने देउवाबाट त्यस्तो प्रस्तावको कल्पना नै थिएन।

त्यसमा पनि नेपालका कुनै पनि राजनीतिक दलमा यस्तो अभ्यास थिएन। दलहरूले सकभर आफ्ना बैठक गोप्य नै राख्दै आएका थिए। देउवाले यसरी पार्टी बैठक प्रत्यक्ष प्रशारण गराउने प्रस्ताव गर्नुको मुख्य कारण उनीविरुद्ध हुने सार्वजनिक आलोचना थियो।

यो बैठकअघि पनि देउवाको चौतर्फी आलोचनाको केन्द्रमा थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाणलाई निलम्बन नगरेर जोगाउन खोजेको भन्दै आलोचना भइरहेको थियो। एक वर्षदेखि केन्द्रीय समिति बैठक बसेको थिएन। ०७९ को संसदीय निर्वाचनको समीक्षासम्म कांग्रेसले गरेको थिएन्। देउवाकै अडानमा कांग्रेसले गठबन्धन गरेर चुनावमा जाँदा अपेक्षित नतिजा आएको थिएन। पार्टी मनोमानी चलाएको भनेर इतर पक्ष मुखरित भएर उनिविरुद्ध आक्रामक थियो।

देउवाले यी विषयसँग सम्बन्धित आलोचनाको सामना बैठकमा गर्ने निश्चित थियो। तर देउवाले आफैं प्रस्ताव गरेर प्रत्यक्ष प्रसारण गराउन चाहे। उनीनिकट स्रोतका अनुसार देउवा पार्टीभित्रको छलफल जस्ताको तस्तै कार्यकर्ता र शुभेच्छुकसमक्ष पुर्‍याएर वस्तुगत चित्र देखाउन चाहन्थे। इतरपक्षी नेताले बैठकमा एक र बाहिर अर्कै कुरा गरेर आफूविरुद्ध दुष्प्रचार गरेको देखाउन चाहन्थे देउवा।

देउवाले प्रस्ताव मात्रै गरेनन्, त्यसपछि झन्डै सात दिन चलेको बैठकको प्रत्यक्ष प्रसारण गरिदिए। देउवाको उक्त निर्णयको धेरैले अनेक किसिमले टिप्पणी पनि गर्दै आएका छन्। उक्त अभ्यास नेपालका राजनीतिक दलमा हुने छलफललाई जनतासमक्ष जस्ताको तस्तै पुर्‍याउने पारदर्शिताको नयाँ आयामको थालनी बन्यो।

पुरानो दलका सर्वाधिक आलोचना गरिएका नेता देउवाले आफ्नो आलोचना हुँदा यसरी पार्टी बैठक प्रत्यक्ष प्रशारण गरेको एक वर्ष पुग्न लागेको छ। यसैबीचमा त्यो प्रसंग सम्झाउनेगरी बुधबार एक नयाँ दलमा अस्वाभाविक दृश्य सार्वजनिक भएको छ।

प्रसंग रास्वपा बैठकको हो। बुधबार बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय घण्टीघरबाट अस्वाभाविक लाग्ने दृश्य बाहिरियो। दृश्यमा रास्वपा महामन्त्री डा. मुकुल ढकाल कालो टेप टाँसिएको मास्कले मुख छोपेर बसेको देखिन्छन्। तस्बिर रास्वपा केन्द्रीय समिति बैठकको हो।

एक वर्षअघि कांग्रेस सभापति देउवा र अहिले रास्वपा महामन्त्री ढकालको अवस्था समान छ। उतिबेला कांग्रेसभित्र आलोचनाको घेरामा देउवा थिए, अहिले रास्वपामा महामन्त्री ढकाल। देउवाले जस्तै ढकालले रास्वपा केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर जनतासमक्ष पारदर्शी रूपमा राख्न प्रस्ताव राखे। तर उनको प्रस्ताव स्वीकृत भएन, अनि उनले मुखमा कालोपट्टी बाँधे।

पार्टी सभापति रवि लामिछानेले नै महामन्त्रीको प्रस्ताव घुमाउरो शैलीमा अस्वीकार गरेको बताइन्छ। तर लामिछानेले आफैं भने निर्णय दिएनन्, आफू निकट केन्द्रीय सदस्यलाई प्रस्तावविरुद्ध बोल्न लगाएर प्रत्यक्ष प्रसारण रोकिदिए।

यद्यपि रास्वपा सहप्रवक्ता मनिष झाले भने सभापति लामिछानेले प्रत्यक्ष प्रसारणको प्रस्ताव स्वीकार गरेको तर शतप्रतिशत केन्द्रीय सदस्यले अस्वीकार गरेको दाबी गरेका थिए।

‘महामन्त्रीज्यूले प्रतिवेदन लाइभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो। तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो,’ झाले भनेका थिए, ‘त्यसको विरोधस्वरूप उहाँले मुखमा मास्क लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो।’

ढकाल बैठक अवधिभर मुख थुनेर बसे। मुख थुनाउने प्रतिवेदन महामन्त्री ढकाललाई आफ्नै मुख थुनाउने अवस्थामा उनकै प्रतिवेदनले पुर्‍याएको हो। इलाम–२ को निर्वाचनमा जमानत जफत भएपछि रास्वपाले महामन्त्री ढकाललाई ‘समीक्षा यात्रा’ मा पठाएको थियो।

यतिबेलासम्म उनी सभापति लामिछानेका दायाँ हात रहेर पार्टीका हर्ताकर्ता नै थिए। विश्वासपात्र भएकैले लामिछानेले उनलाई आफूपछिको शक्तिशाली कार्यकारी पद महामन्त्री सुम्पिएका थिए। समीक्षा यात्राको उद्देश्य पार्टीका विषयमा जनस्तरमा पुगेर धारणा लिएर सुझाव दिने थियो। सोहीअनुरुप उनी जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३८ जिल्ला पुगेर काठमाडौं फर्किए।

जिल्ला यात्रामा जाँदा स्थिती सन्तोषजनक पाएनन्। फर्किएलगत्तै उनी सार्वजनिक सुनिए, ‘घण्टीमा कालो बादल मडारिएको छ।’ पार्टीको स्थापना दिवसमा फेसबुकमा नै पोखिए, ‘पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भिर र उच्च संवेदनशील प्रश्नका अगाडी हामी खडा छौँ’ भनेर लेखे।

पार्टी जोगाउन ‘बोल्ड निर्णय’ लिनुपर्ने औँल्याए। ०८४ मा बहुमतको सरकार बनाउने उद्घोषसाथ ‘मिसन ०८४’ को नारा लगाइरहेको पार्टीबारे उनले टिप्पणी गरे, ‘अहिलेकै अवस्था राष्ट्रिय दलमात्र, अझै खस्किए त्यो पनि रहन्न।’

महामन्त्री ढकालले रास्वपाले लिएको पछिल्लो राजनीतिक बाटो, सत्तारोहण, मन्त्रीहरूको अपेक्षाकृतभन्दा बाहिरको प्रदर्शन, सभापति लामिछानेका एकपछि अर्का विवादका श्रृंखलाले पार्टीको छवि धुमिल हुँदै गएको चित्र सार्वजनिक रूपमा प्रस्तुत गरे।

निर्मम समीक्षा गरेर पार्टी सुधार गर्दै दुर्घटनाबाट बच्नुपर्ने तर्क सारिरहे। त्यहिँ कुरा समीक्षा यात्राको प्रतिवेदनमा पनि राखेको बताइन्छ। तर, उनको त्यो सार्वजनिक बोलि र प्रतिवेदनविरुद्ध रास्वपा पङ्ती भने आक्रोशित बन्ने मसला बन्यो।

त्यहिँ बोलि र प्रतिवेदनका कारण सभापति लामिछानेबाट उनले विश्वास गुमाए। लामिछानेनिकट नेताहरूले महामन्त्री ढकालको बोलि र प्रतिवेदनलाई ‘षडयन्त्र’ को दर्जा दिए।

सरकारमै भएका बेला सत्तारूढ गठबन्धनका नेतालाई चिढ्याउने वातावरण दिएको, अदालतमा विचाराधीन सभापति लामिछाने जोडिएका मुद्दा प्रभावित हुनेगरी बोलेको आरोप लाग्यो। यसपछि पार्टीभित्र महामन्त्री ढकालविरुद्ध आलोचनात्मक वातावरण बन्यो।

सभापति लामिछानेले उनीमाथि कारबाहीसम्मको वातावरण बनाए। पार्टीको अनुशासन आयोगले स्पष्टिकरण समेत सोध्यो। उता ढकालले आफ्नो प्रतिवेदनमाथि छलफल हुनुपर्ने र सार्वजनिक हुनुपर्ने दबाब सार्वजनिक रूपमै गरेका थिए।

जसकारण रास्वपाले ‘लोकलाज’ बाट बच्न बुधबारको छलफल चलाएको थियो। उता छलफलमा आफूविरुद्ध हुने सम्भावित प्रहार महामन्त्री ढकालले अनुमान लगाइसकेका थिए।

उसो त उनले प्रतिवेदनकै कारण आफुमाथि कारबाही हुनसक्ने र महामन्त्री पद जानसक्ने लख काटिसकेका थिए। तर आफू ‘महाभारतको सहदेव नहुने’ भन्दै पार्टीहितका लागि समीक्षा यात्रामा देखेको कुरा लेखेको दाबी गरेका थिए।

बैठकमा आफूमाथि सम्भावित आलोचना र प्रहारलाई हेरेर नै ढकालले पारदर्शी छलफलको आशासहित बैठक प्रत्यक्ष प्रशारणको माग गरेको बुझिन्छ। पुरानो भनिएको दलले नै प्रत्यक्ष प्रशारण गरिसकेकाले नयाँ भनिएको रास्वपामा माग उठेपछि दबाब पुग्ने आशयले उनले उक्त माग राखेको निकटस्थहरू बताउँछन्।

‘तर, रास्वपा निरंकुश निस्कियो। महामन्त्रीज्युको लाइभ गरौं, सबैले देख्नेगरी छलफल गरौं भन्ने प्रस्ताव ठाडै अस्वीकार गरियो,’ स्रोतले भन्यो, ‘त्यसपछि उहाँले मुखमा कालो टेप टाँस्नुभएको हो।’

 ढकालमाथि खनियो बैठक  

बुधबारको बैठक विशेषतः महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफलका लागि डाँकिएको थियो। तर, त्यो प्रतिवेदनमाथि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले वाचन गर्नुसिवाय छलफल नभएको स्रोत बताउँछ।

बैठकमा बोल्ने पदाधिकारी र सदस्यहरूले लगातार महामन्त्री ढकालमाथि नै शब्दबाण साँधिरहे। उपसभाति डोलप्रसाद अर्यालले त आधिकारि कारबाही हुनुअगावै ‘आजदेखि महामन्त्री मान्दैनँ’सम्म भन्न भ्याए।

लगातार आलोचनापश्चात महामन्त्री ढकाललाई जवाफ दिन भनिएको थियो। तर, उनले आफूले मुखमा कालोपट्टी बाँधेको भन्दै बोल्न मानेनन्। त्यसपछि बाहिर निस्किए। सभापति लामिछानेले तत्कालका लागि बैठक स्थगित गरे।

बाहिर निस्किएर सञ्चारकर्मीसँग कुरा गर्दा महामन्त्री ढकाल निकै आक्रामक सुनिए। उनले बैठकमा आफूमाथि ‘दुव्र्यवहार’ भएको बताए। यस्तै उनले पार्टीभित्र ‘रवि प्रवृत्ति मौलाएको भन्दै त्यसको विरोध गरेको बताए।

‘रवि लामिछानेले पनि प्रचण्ड, ओली र देउवाजस्तै प्रवृत्ति देखाउनुहुन्छ भने रवि प्रवृत्तिको विरोध पनि गर्नैपर्छ। त्यो गरेको हुँ। त्यो विरोध मैले उहाँलाई सच्याउन गरेको हुँ। मैले नेताबाट राजनेता बनाउन गरेको हो,’ उनले भनेका थिए।

उनले गोरखा मिडियाको प्रवन्ध निर्देशक र रास्वपा महामन्त्री  पद उस्तै रहेको बताउँदै एउटै अगाडि भने, ‘उहाँ प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिवी राई दोषि, आज उहाँ सभापति र म महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषि महामन्त्री भन्ने आयो। जब पत्रकार हुनुहुन्थ्यो नेता दोषि, जब नेता हुनुहुन्छ पत्रकार दोषि। जब प्रतिपक्ष हुनुहुन्थ्यो सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्छ प्रतिपक्ष दोषि।’ 

रविले देश बनाउँछ भन्ने सोचेर साथ दिएको भन्दै महामन्त्री ढकालले गृहमन्त्री हुँदा देश बनाउने स्थिति नदेखेपछि आलोचनत्मक रूपमा  उत्रिएको बताए। ‘नेपाल सरकारका दुई आइजिपी शसस्त्र र नेपाल प्रहरीको गृहसचिव एकनारायण अर्याल हुनुहुन्छ। उहाँहरूसित रवि लामिछानेको काम गर्ने शैली र चरित्रका बारेमा बुझ्नुप¥यो,’ ढकालले भनेका छन्,‘एक दिनको लागि एआइजी बढुवा गर्दा आइजीलाई दोष थोपर्नुभएको छ। डिएसपी, एसपी साराको बढुवामा डमी आइजीको रुपमा परिचालन गरेर सबै आफूले गर्नुभएको छ।’ अहिले आफूमाथि दोषारोपण गरेर आफ्नो असमक्षता ढाकछोप गर्न खोजेको ढकालले बताएका थिए।  

सरकारमा गएपछि पार्टीको इमेज र क्रेज घटेको स्वीकार गर्ननसकेको टिप्पणी गर्दै मन्त्रीहरूले आफ्नो अक्षमताको भारी महामन्त्रीमाथि बोकाउन खोजेको सम्म भन्न भ्याए।

उता त्यतिबेला बाहिर निस्किएर पत्रकार सम्मेलन गरेका नेताहरू महामन्त्री ढकालसँग झन् आक्रोशित सुनिए। रास्वपा प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले ढकालको अभद्रता क्षम्य नहुने बताएका थिए। उनले भनेका थिए,‘यो किमिसको अभद्रता, यो किसिम अराजनीति, यो किसिमको अनुशासनहीन र पार्टीले लेखेको प्रतिवेदन टुक्राटुक्रा पारेर जुन किसिमले उहाँले हिरोइजम देखाउनुभएको छ, यो क्षम्य छैन।’

रास्वपाले महामन्त्री ढकालको प्रतिवेदन अस्वीकृत गरेको समेत उनले बताएका थिए। ‘उहाँले बनाएको प्रंतिवेदन के हामीले पुजा गरेर राख्नुपर्ने रु त्यो प्रतिवेदन पार्टीले स्वीकृत गरेको छैन,’ उनले भने।

रातारात कारबाही  

दिनभरको तनावपूर्ण बैठकबाट बाहिरिएका महामन्त्री ढकालले सञ्चारकर्मीसँग चर्को आक्रोश पोखेपछि रास्वपाका नेताहरू झन् क्रुद्ध बनेका थिए। त्यसपछि फेरि बैठक बसेर रातारात उनलाई सातदिनका लागि पार्टी महामन्त्री र प्रवक्ताबाट निलम्बन गरियो।  

उनको ठाउँमा महामन्त्रीको जिम्मेवारी तत्काललाई सहमहामन्त्री बुर्लाकोटी र प्रवक्ताको जिम्मा सहप्रवक्ता रहेका झालाई प्रदान गरियो। 

प्रकाशित: २० असार २०८१ १५:५४ बिहीबार