राजनीति

१६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्।

मन्त्री तामाङले नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका लागि समिति गठन गरिएको जानकारी दिए। उनले सो निगमलाई संचालन गर्न निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा पनि सरकारले गम्भीर ढंगले छलफल गरिरहेको सुनाए।

मन्त्री तामाङले भने, ‘आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरु भित्रिने छन्। नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ। नेपाल वायुसेवा निगम भित्र देखिएको अनियमितताबारे छानबिन समिति हिजो गठन गरिएको छ। यसमा निजी क्षेत्रलाई समेट्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ।’

मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि आफूले सक्दो पहल गरिरहेको पनि जनाए।

प्रकाशित: २० असार २०८१ १५:०७ बिहीबार