राजनीति

आर्थिक विकास र समृद्धि ल्याउन सके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिन्छः प्रदीप ज्ञवाली

फाइल तस्बिर

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउन सके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुङ्गिने बताएका छन्।

मंगलवार नेपाली काँग्रेसले आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले  शान्ति प्रक्रियाका विभिन्न आयामहरु मध्ये गणतन्त्र स्थापना गर्ने, राज्यको पुनः संरचना गर्ने, माओवादी लडाकुहरूको व्यवस्थापन काम सम्पन्न भइसकेको बताए।

अब सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने कुरा बाँकी रहेकाले सबै राजनीतिक दलहरुको ध्यान सोही कुरामा केन्द्रित रहेको बताए । उनले हिंसा नहुनु मात्रै शान्ति नभएको भन्दै नागरिकहरूले न्यायको महसुस नगरेसम्म दिगो शान्ति हुन नसक्ने बताए।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले  सबैको ध्यान मुलुकको सामाजिक, आर्थिक रूपान्तरण, आर्थिक विकास, देशभित्रै रोजगारीको सुनिश्चिततातर्फ हुनुपर्ने बताए । 

प्रकाशित: १८ असार २०८१ १८:२२ मंगलबार

#Deputy General Secretary of CPN-UML Pradeep Gyawali #100th Birth Anniversary of Girija Prasad Koirala