राजनीति

प्रधानमन्त्री र मन्त्री फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा निकृष्ट सोच: सांसद पाण्डे

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री र मन्त्रीहरू फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा निकृष्ट सोच भएको बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले महिना महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताए।

एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र सङ्कीर्ण सोच भएको उनको भनाइ थियो।

‘महिना महिना दिनमा हुने उथलपुथलले राजनीतिलाई, राजनीतिज्ञहरुलाई व्यवस्थालाई केही कुरालाई पनि फाइदा हुँदैन। म चाहिँ रोमाञ्चित हुन्न। दुई वटा दल मिल्ने कुरा मन्त्रीहरू परिवर्तन गर्नेमा मात्रै आधारित भयो भने त्यो झन् निकृष्ट र संर्किण सोचबाट निर्देशित प्रयत्न हो भन्ने लाग्छ मलाई।’ उनले संचारकर्मीहरुसँगको कुराकानीमा भने।

संविधान संशोधन गर्न र सत्तालाई स्थिर ढंगले चलाउने उद्देश्यसहित दुई दल मिल्नु राम्रो हुने उनले बताए।

‘देशको अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछौ। देशको राजनीतिलाई स्थिर बाटो दिन्छौँ भन्ने कोणबाट समझदारी हुन सक्यो भने त्यसलाई नराम्रो मान्न मिल्दैन। तर केवल सत्ताको अदलबदलमा मात्रै आधारित भयो भने त्यो संर्किण सोचले राजनीतिलाई पनि ठिक बाटोमा लाँदैन।’ उनले भने। 

प्रकाशित: १७ असार २०८१ १८:२१ सोमबार