राजनीति

भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छः बाबुराम भट्टराई

फाइल।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने जिकिर गरे।

‘नेपाल पछाडि परेको ऐतिहासिक कारणले हो। हामी हाम्रो जैविक, वातावरणीय रुपले हामी पछाडि परेका छैनौँ। नेपाल समृद्ध बन्नसक्छ। शर्त के हो भने हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनु पर्छ।’ उनले भने।

नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए। समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्‍याउने गरी काम गर्नुपर्नेमा उनले जाेड दिए।

‘हाम्रो थुप्रै वामपन्थी भनेको छ, यो छोडिदिऔँ, यो घाँडो भयो, संघीयता छोडिदिऔँ। यो पहिचानवादी कुरा नगरौँ भन्नुहुन्छ, खुसुक्क मसँग आएर। यथार्थ हेर्ने हो नि। यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो। आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत हामीले बनाऔँ।’ कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने।

अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताए। नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १५ असार २०८१ १८:११ शनिबार