राजनीति

नेता नामका संस्थालाई बजेटः रोक्ने दाउमा बालेन, लिइछाड्ने वडाध्यक्षको अडान

शुक्रबार काठमाडौं महानगरको नगरसभा बस्दै नबसी स्थगित भयो। बिहान आठ बजे बोलाइएको बैठकमा महानगरका मेयर बालेन्द्र शाह आफैं उपस्थित भएनन्। जसले करिब तीन घण्टासम्म कुरेका जनप्रतिनिधिहरु अन्ततः सभा स्थगित भएको सुचना पाएर बाहिरिए।

शुक्रबारको सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल थियो। तर यस्ता महत्त्वपूर्ण एजेन्डासहित आफैंले बोलाएको सभामा मेयर शाह किन गएनन् ? गम्भीर प्रश्न र बहस जारी छ।

आफूहरु बिहान ८ देखि ११ बजेसम्म कुर्दासमेत मेयर बालेन नआएकोवडा नं. १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए। उनले भने, ‘हामी बिहान आठ बजेदेखि मेयर ज्यूलाई कुरेर बस्यौं। उहाँ आउनुभएन। बिहान ११ बजेसम्म हामी उहाँलाई कुरेर बस्यौं। पछि बैठक स्थगित भएको कुरा हामीले फेसबुकबाट थाहा पायौं।’

सबै कुराहरु छलफल र सहमतीबाटै निष्कर्षमा आउने बताउँदै श्रेष्ठले सो बजेट छलफलमा मेयर आउनुपर्ने बताए। ‘मेयर ज्यू नआउँदा नीति तथा कार्यक्रम र बजेटमाथि छलफल नै भएन। हाम्रो त्यस्तो ठुलो कुरा केही थिएन्। बजेटमा देशका लागि योगदान दिएको सहिदहरुको नाममा खोलेको प्रतिष्ठानहरुका बजेट छुट्याउन भनेका हौं, उनले भने।

वर्षौंदेखि चल्दै आएको कुरामा महानगरलाई अहिले बजेट छुट्याउन किन समस्या हुने भन्दै श्रेष्ठ प्रश्न गर्छन्।

उनी भन्छन, ‘जसले यो देशमा व्यवस्था ल्यायो उहाँहरु सबैको प्रतिष्ठानको नाममा पहिला देखि नै बजेट छुटेको हो अहिले बजेट छुट्याउन किन समस्या। त्यो मात्र होइन बजेट पनि अपुरो छ। त्यो बजेटमा छलफल हुनुपर्छ। हाम्रो प्रमुख माग भनेको सबिकमा प्रतिष्ठानहरुलाई जति बजेट छुटाएको थियो त्यसमा अहिले पनि छुट्याउन पर्छ।’

यता मेयर शाह भने प्रतिष्ठानहरुलाई बजेट छुट्याउने कुरामा सकारात्मक छैनन्। उनले सामाजिक सञ्जालमा लेख्दै नेताको नाममा करोडौंको कार्यक्रम गर्न नमान्दा नगर सभा रोकेको बताएका छन्।

उनले लेखेका छन्, ’एमाले कांग्रेसले बिपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो। मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ। सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला। त्यसपछि आज बस्ने नगर सभा बैठक रोकेर जानु भयो।’

मेयर बालेनको सचिवालयले शुक्रबार बिहान ८ बजे बोलाएको नगर सभामा गणपुरक संख्या नपुगेर स्थगित भएको जनाएको छ। ‘उहाँहरूले नेताको नाममा करोडौंको कार्यक्रम माग गरेर संशोधन प्रस्ताव राख्नुभयो,’ सचिवालयले भनेको छ।

सचिवालय सदस्य भूपदेव साहका अनुसार मेयरले नेताहरूको कार्यक्रममा संघ र प्रदेशले विनियोजन गरेको बजेटमा महालेखाले समेत प्रश्न उठाएको भन्दै राख्न नसक्ने बताएपछि कार्यपालिका सदस्य हलमा नछिरेको बताए।

सहमतिको बाटो खोज्न चार सपुतहरुको नाममा विशेष कार्यक्रम बनाएर जाउ भन्दा नमानेको उनको भनाइ छ।

त्यसो त काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा विभिन्न नेताका नाममा रहेका प्रतिष्ठान, फाउन्डेसन र संघसंस्थालाई १२ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले प्रश्नसमेत उठाएको छ।

प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७९/८० मा संघीय तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम र पालिकाबाट स्वीकृत नीति तथा कार्यक्रम अनुसार करिब सय जना विशिष्ट व्यक्तिहरूका नाममा स्थापना भएका प्रतिष्ठान, फाउन्डेसन र अन्य संघसंस्थालाई अनुदान रकम वितरण गरिएको थियो।

प्रतिवेदनमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३० लाख रुपैयाँ, बीपी कोइराला प्रतिष्ठानलाई एक करोड २० लाख रुपैयाँ, पुष्पलाल स्मृति प्रतिष्ठानलाई एक करोड २० लाख रुपैयाँ र गणेशमान सिंह प्रतिष्ठानलाई एक करोड २० लाख रुपैयाँ अनुदानस्वरूप उपलब्ध गरिएको उल्लेख गरिएको छ।

यस्तै, जीपी कोइराला प्रतिष्ठानलाई एक करोड २० लाख रुपैयाँ, सुशील कोइराला प्रतिष्ठानलाई एक करोड २० लाख रुपैयाँ, रामराजाप्रसाद सिंह प्रतिष्ठानलाई ७५ लाख रुपैयाँ, गजेन्द्रनारायण सिंह प्रतिष्ठानलाई ७५ लाख रुपैयाँ, पोष्टबहादुर बोगटी फाउन्डेसनलाई ७५ लाख रुपैयाँ र महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानलाई ६० लाख रुपैयाँ अनुदानस्वरूप प्रदान गरिएको प्रतिवेदनमा देखाइएको छ।

सहिद प्रतिष्ठान नेपाललाई ७५ लाख रुपैयाँ, सहिद तथा बेपत्ता योद्धा सन्नती फाउन्डेसन नेपाललाई ७५ लाख रुपैयाँ, इन्द्रेणी सांस्कृतिक विकास केन्द्रलाई ७५ लाख रुपैयाँ र प्रज्ञा स्मृति प्रतिष्ठान चितवन का.म.पा. रुद्रमतीलाई ७५ लाख रुपैयाँ, महेन्द्रनारायण निधि स्मृती प्रतिष्ठानलाई ६० हजार अनुदानस्वरूप दिइएको छ।

प्रकाशित: १४ असार २०८१ १८:५० शुक्रबार

#Kathmandu_Metroplitan #Bugeet #Mayor Balen Saha