राजनीति

आठराई त्रिवेणी गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई ५० हजार दिने

गाउँपालिकाको बजेट ५० करोड ५४ लाख रुपैयाँ

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्य पालिकाबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । पालिकाले आगामी आर्थिक बर्षका लागि ‘पूर्वाधार विकास गाउँपालिकाको आवश्यकता, दिगो विकास पहिलो प्राथमिकता’ नीति तय गरेको छ । गाउँसभाको बर्खे अधिवेशनमा पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले आगामी आर्थिक बर्ष २०८१।८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३१ वटा मुख्य विषयलाई आधार मानी नीति कार्यक्रम तय गरिएको जानकारी दिए ।  

गाउँपालिकाले उपभोक्तामार्फत सञ्चालन हुने कार्यक्रममा उपभोक्ता समितिमा ७० प्रतिशत महिलाको अनिवार्य सहभागिता गराउने नीति अख्तियार गरेको छ । पालिकाले उपभोक्ता समितिको दर्ता र सम्झौता वडा कार्यालयबाटै गर्ने व्यवस्थाको घोषणा गरेको छ ।  

पालिकाले गाउँपालिका भित्रका सबै माध्यमिक बिद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी लगायत पालिका मातहतका सबै निकायहरुमा इन्टरनेट जडान गर्ने व्यवस्था गरेको जनाएको छ । पालिकाले प्रत्येक चार–चार महिनामा पालिका भित्रका प्रत्येक माध्यमिक बिद्यालयहरुमा ‘बिद्यार्थीसँग पालिका अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने भएको छ भने प्रत्येक चार–चार महिनामॉजनतासंग पालिका अध्यक्ष’कार्यक्रमको समेत घोषणा गरेको छ ।  

एमबीबीएस पढ्ने बिद्यार्थीलाई कूल रमकको ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा समेत गरेको छ । पालिका भित्रका प्रत्येक माध्यमिक बिद्यालयहरुमा पालिकाले पहिचान गरेको क्षेत्रमा एक आर्थिक बर्ष भित्र एकहजार बिरुवा रोपणको कार्यक्रम पालिकाले अघि सारेको छ ।  

गाउँपालिकाले पालिका भित्रका मुख्य सडकलाई बाह्रैकाल सञ्चालन हुनेगरी मर्मतसम्भार तथा स्तरोन्नतीका कार्य अघि बढाउने घोषणा गरेको छ । पालिकाका ५ वटै वडालाई बिद्युतको राष्ट्रिय प्रसारणमा जोडी ‘उज्यालो गाउँपालिका’ बनाउने पालिकाको घोषणा गर्दै पालिकाले घरायसी प्रयोजनमा खपत हुने बिद्युत महशुल निःशुल्क गर्ने विगतको योजना तथा कार्यक्रमलाई निरन्तरता दिएको छ ।  

पालिकाले पालिकाका सबै घरधुरीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ अभियान अघि बढाउने घोषणा गरेको छ । जनताको जीवनस्तरमा सुधार,आम्दानी र रोजगारी बृद्धिका कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै पालिकाले योजना सञ्चालन गर्दा स्थानीय सहभागिता जुट्ने दीर्घकालिन योजनालाई महत्व दिने भएको छ । पालिकाले प्रत्येक वडाका कम्तिमा ५० घरको फुसको छानो बिस्थापन कार्यक्रम अघि बढाउने गरी बजेटको व्यवस्थापन गरेको जनाएको छ । पालिका भित्रका कडा रोग लागेका विपन्न परिवारलाई २० हजार रुपैयाँ सम्म सहयोग रकम उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ ।  

पालिकाले ‘जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम’मार्फत अशक्त, अपाङ्ग तथा जेष्ठ नागरिकहरुको घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले ‘जनप्रतिनिधिसंग जनताको स्वास्थ्य’कार्यक्रम अन्र्तगत प्रत्येक तीन–तीन महिनामा ३० बर्ष माथिका सबै नागरिकको सुगर तथा प्रेशर जाँच गर्ने भएको छ । पालिकाले कोशी प्रदेश सरकार र करुणा फाउण्डेसन समेतको सहयोगमा नवजात शिशुमा जन्मदोष परीक्षण गरी जन्मदोष पहिचान भएका शिशुको स्वास्थ्य उपचार,बिद्यालयमा रहेका १० बर्ष मुनिका बालबालिकाको स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढाउने भएको छ । 

पालिकाले पालिकाभरीका बिपन्न र सुकुम्बासीलाई आवासका लागि जग्गाको व्यवस्थापन गर्ने प्रकृयाको थालनी गर्ने भएको छ । पालिकाले प्रत्येक वडामा कम्तिमा एउटा इन्डोर हल निर्माण गर्ने घोषणा गरेको छ । न्याय सम्पादन सम्वन्धी नीति तय गर्दै पालिकाले ‘गरौं मिलाप,नगरौं बिलाप’भन्ने नारा अघि सारेको छ । बिपन्नलाई सम्पन्न बनाउन सहयोग गर्ने तथा अनाथ र टुहुरा बालबालिकाको संरक्षण र पालपोषण गर्ने व्यक्तिलाई पालिकाले सम्मान गर्ने भएको छ ।  

आठराई त्रिवेणीको बजेट ५० करोड ५४ लाख रुपैयाँ 

आठराई त्रिवेणी गाउँपालिकाले आगाी आर्थिक बर्ष २०८१।८२ का लागि कूल ५० करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले सोमवार सम्पन्न बर्षे अधिवेशनमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् । 

गाउँपालिकाले वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार रुपैयाँ बिनियोजन गरेको छ । वित्तीय समानीकरणतर्फ संघीय सरकारबाट प्राप्त १० करोड ३० लाख तथा प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपैयाँ स्रोत व्यहोर्ने क्षेत्रको रुपमा राखिएको छ । बित्तीय समानीकरणबाट भौतिक पूर्वाधार तथा अन्य कार्यक्रम खर्च गर्ने प्रस्ताव गरिएको छ । 

यस्तै राजश्व बाँडफाँडतर्फको ७ करोड ९ लाख रुपैयाँ चालू खर्च र कार्यक्रम खर्चतर्फ बिनियोजन गरिएको छ । यस्तै संघीय सरकारबाट प्राप्त १ करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँ गरी कूल २ करोड ५० लाख पूर्वाधार निर्माणका लागि खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ । संघीय सरकारबाट प्राप्त २० करोड १९ लाख ५ हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रकम सर्त अनुसार खर्च गर्नेगरी बिनियोजन गरिएको छ । 

यस्तै संघीय सरकारबाट प्राप्त बिशेष अनुदान वापतको १ करोेड ५० लाख रुपैयाँ धोद्रे खानेपानी आयोजनामा खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ । आन्तरिक आयतर्फ अनुमान गरिएको ३५ लाख रुपैयाँलाई निःशुल्क बिद्युत कार्यक्रममा खर्च गर्नेगरी बिनियोजन गरिएको छ । 

पालिकाले गतबर्षको नगद मौज्दात ८ करोड ७२ लाख गरी कूल ९ करोड ७ लाख ७० हजार रुपैयाँलाई कूल आन्तरिक आय मानेर शीर्षकगत कार्यक्रम तय गरेको छ ।  

प्रकाशित: १० असार २०८१ १६:४२ सोमबार

#Aathrai_Tribeni_Gapa