राजनीति

त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले थाल्यो काम

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले काम सुरु गरेको  छ। समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई कार्यारम्भ गरेको  समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिए।

समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ।

समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्नेछ।

मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा डा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहेका छने। समितिलाई तीन महिनाको समयावधि दिइएको छ। रासस

प्रकाशित: ७ असार २०८१ १२:३२ शुक्रबार

#Tribhuwan university