राजनीति

दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई एमालेकाे आग्रह

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुग्ध किसानहरुले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताए। 

उनले संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरु लिएर आन्दोलन गरिरहेका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको बताए। उनले किसानहरुको जायज मागलाई अविलम्व सम्बोधन गरी दुधको रकम भुक्तानी गर्न सरकारले ढिलाइ गर्न नहुने बताए। दुध किसानहरुले दुध बेचेको पैसा सरकारबाट २ अर्ब र निजी डेरीबाट करिव ३ अर्ब रहेको भन्दै उक्त रकम तत्काल उपलब्ध हुनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘दुध किसानहरुले काठमाडौंको दुग्ध विकास संस्थान लैनचौरको परिसरमा धर्ना बस्दै हुनुहुन्थ्यो। प्रहरीहरुको धरपकड भयो, प्रहरीले ४५ भन्दा बढी किसानहरुलाई गिरफ्तार गर्‍यो। उहाँहरुमाथि मर्यादित व्यवहार भएन भन्ने छ। किसानहरुको जायज माग छ । उहाँहरुको न्यायोचित विषय छ। उहाँहरुले दुध बेच्नुभयो। सरकारलाई बेच्नुभयो, निजी व्यक्तिहरुलाई बेच्नुभयो। दुध बेचेको रकम लिन आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरु पुगे। सरकारबाट झन्डै २ अर्ब किसानहरुले रकम प्राप्त गर्नुपर्नेछ। निजीबाट झन्डै ३ अर्ब छ। ६ लाख किसानहरुको दुधको रकम झन्डै ६ अर्ब राज्यबाट वा निजी डेरीबाट प्राप्त गर्नुपर्नेछ। उहाँहरु भुक्तानी नपाउँदा पीडित हुनुहुन्छ। दुधको भुक्तानी वक्यौता अविलम्व प्राप्त गराइयोस्। भुक्तानी गरियोस्।’

प्रकाशित: ५ असार २०८१ १३:२४ बुधबार

#uml #Chief Whip Mahesh Bertaula