राजनीति

नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन्। पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे। 

पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

उनले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन। किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौं। त्यतिखेरै हामीले घोषणा पत्र जारी गर्दाखेरी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्छ भनेर हामीले प्रष्ट सोच र धारणा अगाडि सारेका छौं। पार्टीमा विभिन्न पक्षहरुबाट त्यसको व्याख्या र विश्लेषण गर्दै हामी अगाडि बढेका छौं। स्वभाविक रुपमा पार्टीको महाधिवेशनले यी विचारहरुलाई व्यवस्थित रुपले अघि सार्नुपर्ने आवश्यकता पर्दछ। त्यसो हुनाले हामीले यो महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौं।’

अध्यक्ष नेपालले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरुले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पारे।-रासस

प्रकाशित: ३ असार २०८१ १३:४८ सोमबार

#Madhav-Kumar-Nepal