राजनीति

विदेशी नियोगहरूमा अनलाइनबाट वैदेशिक रोजगारी माग पत्र प्रमाणीकरण गरिनेःश्रममन्त्री अर्याल

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगहरूमा अनलाइनबाट वैदेशिक रोजगारी माग पत्र प्रमाणीकरण गरिने बताएका छन्।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिनमा गरेका कामको बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन।उनले प्रमुख श्रम गन्तव्य साउदी अरब, कतार, मलेसिया तथा खाडीका अन्य देशमा माग प्रमाणीकरण अनलाइनबाट सबै नियोगहरूमा सुरुवात गरिने बताए।

श्रम मन्त्री अर्यालले अहिलेसम्म प्रमुख श्रम गन्तव्यमा अनलाइन प्रणालीको विकास नहुँदा रोजगारदाता कम्पनीले दूतावासमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षण गर्न कठिनाइ हुने, कार्य प्रक्रिया पारदर्शी नहुने, धेरै समय र लागत लाग्ने जस्ता गुनासा आएकाले त्यसलाई अनलाइन प्रमाणीकरण गर्ने कार्य दुबईमा सुरुवात गरिएको बताए। उनले कन्सुलर सेवा विभाग र मन्त्रालयले संयुक्त रुपमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सरल र सहज सेवा प्रदान गर्नेतर्फ काम भइरहेको बताए।

उनले अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा गएका कामदार समस्यामा परे माग पत्रअनुसार रोजगारदाता र म्यानपावर एजेन्सीमार्फत श्रमिकको उद्धार तथा सहयोग गर्न निर्देशन दिन सकिने बताए। उनले नेपाली कामदारहरूलाई समस्या परेमा मद्दत गर्न सघाउ पुग्ने, सम्पूर्ण प्रक्रिया सरल, सहज र पारदर्शी भई विद्युतीय सुशासन कायम हुने तथा सेवाग्राहीहरू लाभान्वित हुने अपेक्षा रहेको बताए।

उनले श्रम मन्त्री भएपश्चात् डिग्री पास अंग्रेजी भाषामा गरे पनि विदेशमा काम गर्न जाँदा अँग्रेजी भाषा सिकेर ५० नम्बर ल्याएर मात्रै जान पाउने विवादात्मक कार्यविधिलाई खारेज गरिएको बताए। 

श्रम मन्त्री अर्यालले जापान, कोरिया र इजरायलमा कामदार भिसामा श्रमिक पठाउने विषयमा अध्ययन गरिरहेको बताए। उनले सरकार सम्भवत यस विषयमा छिटो निर्णयमा पुग्ने बताए।

श्रम मन्त्री अर्यालले सरकारले प्रयास जतिसक्दो चाँडो देश बस्न लायक बनाउने रहेको बताए। उनले नेपाललाई सकेसम्म नेपालीहरू विदेश जान नपर्ने देश बनाउने भएको बताए। 

प्रकाशित: २ असार २०८१ १७:२७ आइतबार

#Labor Employment and Social Security Minister Dol Prasad Aryal #Foreign employment #online #Manpower