राजनीति

बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छः सांसद शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुकै लगानीमा बन्नुपर्ने प्रस्ताव गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उनले बताए।

आईतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राखे।

उनले नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेघावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाई गर्न नहुने बताए।

उनले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरु अघि बढ्न नहुने बताए।

महामन्त्री शर्माले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाका ऋण तिर्न नसकिने अवस्था विद्यमान रहेको पनि स्मरण गराए।

महामन्त्री शर्माले सो आयोजना अघि बढाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष सबै एक भएर अघि बढ्नुपर्ने बताए।

प्रकाशित: २ असार २०८१ १३:२३ आइतबार