जनता समाजवादी पार्टी नेपालको बुधवार हुने निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ।
निर्वाचन समितिले केहीबेर अघि सार्वजनिक गरेको अन्तिम नामावली अनुसार सहअध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङको उम्मेदवारी परेको छ भने महासचिवमा मनिष सुमन, रामकुमार शर्मा, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।
जसपा नेपालको विधान अनुसार एकजना अध्यक्ष, एकजना सहअध्यक्ष, पाँच जना उपाध्यक्षमध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तैगरी २ जना महासचिव र तीनजना उपमहासचिवमध्ये एकजना महिला हुनुपर्ने विधानले व्यवस्था गरेको छ।
त्यस्तै सचिव सात जनामध्य दुईजना महिला अनिवार्य हुने र कोषाध्यक्ष एकजना रहने व्यवस्था रहेको छ।
२० जना केन्द्रीय पदाधिकारी रहने जसपा नेपालको केन्द्रीय समिति २०१ सदस्यीय चयन हुनेछ।
निर्वाचनका अन्य प्रक्रिया पूरा गरी अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदानका लागि समय तोकिएको छ।
यसअघि अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन्।
प्रकाशित: ३० जेष्ठ २०८१ १३:५७ बुधबार