राजनीति

घोषणापत्रमा कुरा नमिलेपछि बारको सम्मेलनमा विवाद

नेपालगन्ज- नेपाल बार एशोसियशनको नेपालगन्जमा जारी १४ औं राष्ट्रिय सम्मेलनको समापन समारोहमा विवाद उत्पन्न भएको छ। सम्मेलन समापनका क्रममा जारी गरिएको नेपालगन्ज घोषणा पत्रमा आपति जनाउँदै कानुन ब्यवसायीको एक समूहले बिरोध जनाएपछि विवाद उत्पन्न भएको हो।

  बारका पूर्वउपाध्यक्ष टिकाराम भट्टराई, अधिवक्ता बालकृष्ण ढकाल, एकराज भण्डारी, सुरेन्द्र थापा लगायतले घोषणापत्र प्रति आपति जनाउँदै बिरोध जनाएका हुन्। उनीहरुको बिरोधका कारण घोषणापत्र जारी गर्ने प्रक्रिया अन्यौलमा परेको छ। असन्तुष्ट कानुन ब्यवसायीले तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग प्रकरण, निर्वतमान प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्हिगमन प्रकरण, अदालतमा ब्याप्त बिकृती, विसंगती, भ्रष्टाचारका विषयमा घोषणा पत्रमा स्पष्ट नपारिएको गुनासो गरेका छन्।

 यस्तै राजनीतिक आस्थाका आधारमा झुट्टा मुद्दा लगाउने र दुःख दिने विषयमा बारले नबोलेको उनीहरुको आरोप छ। तीन दिन सम्म चलेको सम्मेलनले २८ बुँदे घोषणा पत्र जारी गर्ने तयारी थियो। सम्मेलन स्थलमा कानुन ब्यवसायीको एउटा समूहले विरोध जनाएपछि घोषणा पत्रमा छुटेका बुँदालाई समेटेर विवाद समाधानको प्रयास गरिरहेको अधिवक्ता बसन्त गौतमले जानकारी दिए। बारका अध्यक्ष शेरबहादुर केसीले सर्वसम्मत रुपमा घोषणा पत्र जारी गर्न सबै कानुन ब्यवसायीलाई अनुरोध गरेका छन्।

 

 

 

प्रकाशित: ११ चैत्र २०७४ १२:४६ आइतबार