राजनीति

जसपा नेपालको बन्द सत्र जारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन बन्द सत्र जारी रहेको छ।

बन्द सत्रको प्रारम्भमा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरी बन्द सत्र सुरु गरिएको हो। अध्यक्ष मण्डलमा उपेन्द्र यादव, रकम चेम्जोङ, लालबाबु राउत, मृगेन्द्रकुमार सिंह र लीला सिटौला रहेका छन्।

अध्यक्ष मण्डलको तर्फबाट पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। प्रतिवेदन प्रस्तुत गरेपश्चात् सो प्रतिवेदनउपर समूहगत छलफल हुनेछ। साथै बन्द सत्रमा लेखा परीक्षण आयोगका प्रमुख अमरेशनारायण झाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन्।

जनकपुरस्थित तिरहुतियागाछीमा जारी बन्द सत्रमा करिब १३ सय प्रतिनिधि सहभागी रहेका छन्।

प्रकाशित: २९ जेष्ठ २०८१ १४:१९ मंगलबार

#jasapa_nepal #Upendra Yadav