राजनीति

तेह्र मन्त्रालय र उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका छापियो, मंगलबारदेखि छलफल

मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक उपलब्ध नहुँदा प्रतिनिधि सभाको बैठक स्थगित भएपछि मन्त्रालयलहरु पुस्तक छाप्न सक्रिय भएका छन्।

विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक सम्बन्धित मन्त्रालयले उपलब्ध नगराउँदा आइतबार प्रतिनिधिसभा बैठक सूचना टाँसेर २ दिनका लागि स्थगित भएको थियो।

संघीय संसद् सचिवालयले विनियोजित रकम उल्लेखित पुस्तक नभएको भन्दै आइतबार र सोमबार प्रतिनिधि सभाको बैठक स्थगित गरेको थियो।

अहिले भने मन्त्रालयहरुले पुस्तक पठाइसकेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। सोमबार दिउँसोसम्म १३ वटा मन्त्रालय र उपराष्ट्रपति कार्यालयको पुस्तक आइसकेको उनले बताए।

उनले भने, ‘सोमबार दिउँसोसम्म १३ वटा मन्त्रालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयको बजेट पुस्तक आइसकेको छ। अब बेलुकासम्म अन्य पनि आउँछन् होला। मंगलबार बस्ने प्रतिनिधि सभाको बैठक रोकिदैन।’

प्रवक्ता गिरीका अनुसार उधोग बाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालबालिका, वन तथा वातावरण, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, रक्षा, कुषि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार, शिक्षा, विज्ञान तथा प्रविधि र सहरी विकास मन्त्रालयले बजेट पुस्तक पठाएका छन्।

त्यसबाहेक राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयले पनि बजेट पुस्तक पठाइएको उनले बताए। उक्त पुस्तकहरु सांसदहरूलाई समेत पठाइसकेको गिरीले बताए।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कुषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेट विनियोजनमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। 

प्रकाशित: २८ जेष्ठ २०८१ १५:१२ सोमबार

#parliament #Ministry