राजनीति

सभामुख र नर्वेजियन राजदूतबीच भेटवार्ता

<br>

सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरून ड्रामडलले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदानप्रदान, विकास सहयोगलगायतका विषयमा छलफल भएको छ।

भेटमा सभामुख घिमिरेले सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान भएको, विकास सहयोग, जनस्थरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटनलगायतका क्षेत्रमा सहकार्य भएको बताए।

‘विकास साझेदारका रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ’, उनले भने, ‘नर्वे सरकारले नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनका क्षेत्रमा गरेका काम हाम्रा लागि पनि उपयोगी भएका छन्।’

लामो राजनीतिक संक्रमणकालपछि नेपालमा अहिले दिगो आर्थिक विकास तथा शान्ति र स्थायित्वको अभियान सुरु भएको सभामुखको भनाइ थियो।

नर्वेजियन राजदूत तोरुन ड्रामडलले सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् १९५० देखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताए। उनले आफ्नो मुलुकले नेपालका विभिन्न क्षेत्रमा ३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उल्लेख गरे।

राजदूत ड्रामडलले दुई मुलुकबीच समय–समयमा उच्चस्तरीय भ्रमण भइरहेको स्मरण गर्दै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिए।

सभामुख घिमिरेले पनि नेपालको संसदीय संसद्मा नेपाल–नर्वे संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिको नेपाल भ्रमणले संसदीय आदानप्रदानलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे।

प्रकाशित: २८ जेष्ठ २०८१ १४:०१ सोमबार

#Speaker Devraj Ghimire #Norwegian Ambassador Torun Drumdal #courtesy call