राजनीति

ओलीलक्षित सांसद आलेको टिप्पणीः संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद विघटन गरेको भनि दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नयाँ सत्ता समिकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु उपयुक्त हुने धारणा राखेका छन्। 

सांसद आलेमगरले आफू समेत बस्ने साझा घर भत्काए जसरी ओलीले पार्टीमा झगडा भयो भनेर प्रतिनिधि सभा विघटन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नयाँ सत्ता समिकरणमा सामेल भएकाले कसैले पनि त्यो समिकरणमाथि आँच आउने खालको अभिव्यक्ति दिन नहुने बताए।

सांसद आलेमगरले भने, ‘बजेट कार्यान्वयनका लागि इमान्दारिता चाहियो। यो इमान्दारिता हामी राजनीतिककर्मीहरु त केही दिनका पाहुँना हौं। स्थायी सरकारले यो काम गर्नुपर्ने हुन्छ। यसका लागि स्थायी सरकार इमान्दार देखिनुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि म आग्रह गर्न चाहन्छु। जुनजुन निकाय त्यसका लागि जिम्मेवार हुन्छ। उहाँहरुको ध्यान यसमा पुगेस् भन्न चाहन्छु। केही दिनअघि प्रतिनिधि सभा विघटनालाई जष्टिफाई गर्ने कुराहरु पनि भए। हुन त हरेक कुराको सन्दर्भ हुन्छ। त्यसको औचित्य र उपाधेयता पनि हुन्छ। त्यो घटना बितिसकेको छ। तर यहाँ उठेको हुनाले मैले केही कुरा गर्न चाहे। कुरा सुन्दा कस्तो लाग्यो भने आफ्नो घरमा घरका सदस्यहरु बीच झगडा भयो। घरमुलीले आफु समेत भएको साझा घर भत्काईदियो। आफ्नो घरमा झगडा भएको छ भने त आफ्नो घरको झगडाको पो मिलाउने होला। त्यो झगडा मिलाएको पो त्यो घरमा बस्ने होला। आफूसमेत बस्ने साझा घर भत्काएर त आफ्नो घर कसरी बन्छ होला। जे जे भएपनि त्यो सन्दर्भ बिर्सिसकेको अवस्था थियो। त्यो नकोटयाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यो विषयमा मैले पनि कुरा राखे। यतिबेला हामी एउटा सहयात्रामा यात्री बनेर हिँडिराखेका छौं। नयाँ समिकरण बनाएर हामी हिँडीरहेका छौं। त्यसैले यी वितेका कुराहरु सायद कसैले पनि आदरणीय नेतागण, हामी जस्ता कार्यकर्ता कसैले पनि नकोट्याईदिए हुन्थ्यो भन्ने मलाई लाग्छ।’

यस्तै, सांसद आलेमगरले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि कर्मचारीतन्त्रलाई आग्रह गरे।

प्रकाशित: २८ जेष्ठ २०८१ १३:५५ सोमबार

#Maoist_Center #National-Assembly #MP Suresh-Kumar-Alemgar