राजनीति

एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन: घनश्याम भुषाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन्। आइतवार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे। 

नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए। उनले नेकपा (माओवादी केन्द्र) को समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लग्ने उनको भनाइ छ। उनले नेपालमा समाजवादी क्रान्ति नेकपा (एकीकृत समाजवादी) ले मात्रै ल्याउनसक्ने दाबी गरे। यस्तै,पार्टीको १० औं महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने बताए।

उनले भने, ‘सारा काम १० औं महाधिवेशनले एकै पटक गर्दैन। हाम्रा प्रयत्न सार्थक भएका छन्, सफल भएको छैनन्। पुनःगठन र रुपान्तरणको प्रयत्न सार्थक हुन सकेको छैन, त्यो साँचो हो। विज्ञानमा प्रयत्न गर्नुको औचित्यहीनता कतै हुँदैन। यो महाधिवेशनबाट कतै न कतै समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्छ। यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन। किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो। त्यो एक हिसावले व्यक्ति पूजा। आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ। यसकाविरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ। माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ। उसको त्यो हिसावले सिद्धान्त बुझ्ने उमेर भएको छैन। नेकपा (माओवादी केन्द्र) को उमेर पुगेको छैन। उसले धेरै समय लगाउँछ। हाम्रो यो सानो पार्टी नेकपा (एकीकृत समाजवादी) का काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ।’

महासचिव भुषालले समाजवादी क्रान्तिका योजना र कार्यक्रमहरु २०७५ सालमै गर्नुपर्ने भएपनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदा सम्भव नभएको जिकिर गरे।

प्रकाशित: २७ जेष्ठ २०८१ १३:२७ आइतबार

#Integrated -Socialists #General Secretary #Ghanshyam Bhushal