राजनीति

बाटाबाटामा जवाफ दिन्न : लामिछाने

विराटनगर विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछाने। तस्बिर : नागरिक

गृहमन्त्री रवि लामिछानेले पत्रकारहरूले बाटाबाटामा सोधेका प्रश्नहरुको जवाफ नदिने बताएका छन्। विराटनगरमा आइतबार पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री लामीछानेले बाटाबाटामा जवाफ नदिने र जवाफ दिनै परे सम्बन्धित ठाउँमा दिने बताए।

विगतमा टेलिभिजन कार्यक्रम प्रस्तोता रहेका बेला बाटाबाटामा ¥याख¥याख्ती पारी जबर्जस्ती जवाफ खोज्ने लामिछानेले गृहमन्त्री बनेर विराटनगर आउँदा  पत्रकारहरूले सोधेको प्रश्नको जवाफ  बाटाबाटामा नदिने बताएका हुन्।

लामिछानेले कसैले खडा गरिदिएको प्रश्न नभई आफ्ना प्रश्न सोध्न पत्रकारहरूसँग आग्रह गरे। लामिछानेले भने, ‘तपाईंहरूका आफ्ना प्रश्न पनि होलान् नि। कसैले खडा गरिदिएका प्रश्न महिनौंसम्म सोध्नुभन्दा विपद् व्यवस्थापनसम्बन्धी के–के काम भए? गृह मन्त्रालयले के गरिरहेको छ? यो तीन महिनामा के गर्नुभयो?  भन्ने प्रश्न सोध्नुस् न।’  

विराटनगर विमानस्थलमा पत्रकारहरूले मुलुकका गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय के भइरहेको छ? संसद्मा तपाईंले दिएको जवाफ संसदीय मर्यादाविपरीत भयो भनेर प्रतिपक्षले जवाफ मागिरहेको छ नि? सहकारी ठगीसम्बन्धी समाचार नलेख्न गृहमन्त्री लामीछानेले गरेको आग्रह नमान्दा कैलाश  सिरोहियालाई पक्राउ गरेको उनका छोरा सम्भव सिरोहियाले आरोप लगाएका छन् नि? भन्ने प्रश्न लामिछानेसँग सोधेका थिए।

प्रकाशित: २७ जेष्ठ २०८१ १३:२७ आइतबार

Home Minister Ravi Lamichhane