राजनीति

नेपालको ओलीलाई सुझाव: मुरमुरिएर केही हुन्न, प्रचण्डको भूमिका पोजेटिभ छ

नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नमुरमुरिन सुझाव दिएको बताएका छन् । शनिबार नेकपा एसको कोसी प्रदेश कमिटीद्वारा आयोजित  प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

कार्यक्रममा अध्यक्ष नेपालले परिस्थितिअनुसार नेकपा एसले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको बताउँदै त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहालको भुमिका सकारात्मक रूपमा लिएको बताएका छन् । उनले भने, ‘उहाँले मधेस प्रदेशको बारेमा एक जना मन्त्री थप्ने भूमिकामा, बागमतीमा पनि मन्त्रीलाई पोर्टफोलियो दिने कुरामा, सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री दिन उहाँले नै भन्नुभयो ।’ 

यही प्रसङ्गमा आफूले एमाले अध्यक्ष ओलीलाई नमुरमुरिन सुझाव दिएको नेपालले बताएका हुन् । ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भुमिका पोजेटिभ छ, तपाईँ पनि यस्तै पोजेटिभ हुनुपर्छ,’ उनले भने,‘उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुरमुरिएर पनि होला । मुरमुरिने काम गर्नु हुँदैन ।’

प्रकाशित: २६ जेष्ठ २०८१ १६:०५ शनिबार

#Madhav_Kumar_Nepal #CPN Unified Socialists (NCP S)