राजनीति

सांसद्को संसद अनुभव: विधायिकी काम भन्दा राजनीति हाबी भयो

नेकपा माओवादी केन्द्रका युवानेता माधव सापकोटा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक– १ बाट निर्वाचित भएका हुन्। २०५६ देखि माओवादीको राजनीतिमा सक्रिय युवा नेता सापकोटा पहिलोपटक संसद् छिरेका हुन्। संसद् र समसामयिक विषयमा युवानेता माधव सापकोटासँग राससका प्रगति ढकालले गरेकाे कुराकानीकाे सम्पादित अंश :

यो मेरो पहिलो संसदीय अनुभव हो। बाहिरबाट हेर्दा संसदभित्र जे देखिन्छ संसदीय अभ्यासभित्र आउँदा हरेक विषयमा बाहिर देखेजस्तो नहुँदो रहेछ। बाहिरबाट हेर्दा संसदभित्र एकअर्कासँग झगडा गरेजस्तो देखिए पनि दल र सांसदबीच हार्दिकता र सौहार्दपूर्ण सम्बन्ध हुने रहेछ।

मेरो अनुभवमा संसदमा समय र विषय व्यवस्थापनमा निकै मेहनत गर्नुपर्दछ। थोरै समयमा धेरै कुरा प्रभावकारी र सशक्त ढंगले राख्नुपर्ने हुन्छ। अनुसन्धान तथा तथ्यांकका आधारमा संसदभित्र बोल्दा आफ्नो समय बचाउन सकिन्छ। आफूले राखेका विषयवस्तु आकर्षण र रुचिकर पनि हुनुपर्छ। कहीं न कहीं एउटा विचारसँग हामी बाँधिएका छौं। त्यो विचार–दर्शनमा रहेर आफ्ना तर्क प्रस्तुत गर्नुपर्ने सांसदलाई बाध्यता हुन्छ।

मनमा लागेका कतिपय कुरा निर्धक्कसँग भन्न केही बन्धन पनि हुन्छन्। सुरुका चरणमा प्रतिनिधिसभाको बैठकभित्र छिरेपछि मलाई आफ्नो प्रस्तुति नै प्रभावकारी होला कि नहोला भन्ने दबाब हुन्थ्यो। विस्तारै अभ्यस्त हुँदै गएपछि अहिले सहज लाग्न थालेको छ।

संसदमा भूमिका निर्वाह गर्ने क्रममा केही चुनौती पनि सामना गर्नुपर्ने हुन्छ। म उमेरको हिसाबले युवा पनि भएँ अनि उपस्थितिको हिसाबले पनि यो मेरो संसदमा पहिलो अनुभूति हो। संसदीय अभ्यासभित्र पञ्चायतकालदेखि सांसद भएका पनि त्यहाँभित्र हुनुहुन्छ। सुरुका चरणमा नयाँ सांसदलाई गरिने सम्पर्क, सम्बन्ध र व्यवहारमा फरक हुने रहेछ।

अहिले संसदमा आफ्नो प्रस्तुति प्रभावकारी रुपमा राख्न थालेपछि सम्पर्क, सम्बन्ध र व्यवहारमा फरक पाएँ। संसदमा सक्रिय र प्रभावकारी रुपमा उपस्थिति हुँदा मात्रै समग्र सम्बन्धहरुको विस्तार हुँदै जाने रहेछ। सांसदको भूमिका प्रभावकारी हुन सकेन भने हामी आफैं गुमनाम हुने रहेछौं। तसर्थ संसदीय अभ्यासमा छिर्दा अवसर र चुनौती दुवै छन्।

मैले यो ठाउँसम्म आइपुग्दा राजनीतिमा धेरै संघर्ष गर्नुपर्‍यो। बाल्यकालदेखि म राजनीतिमा होमिएँ। २०५० सालतिरको कुरा हो। मलाई त्यसबेला नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा बसेर काम गर्ने इच्छा भयो। संगठनमा बस्न खोज्दा अहिल्यै उमेर पुगेको छैन भनेर विद्यार्थी संगठनमा बस्न दिइएन। त्यसपछि म आफैंले आफ्नो उमेर समूह मिल्नेसँग बालसमूह बनाएँ। त्यसको एक वर्षपछि बाल संगठनको व्यवस्था गर्ने निर्णय भयो। उमेर पुगेपछि मलाई विद्यार्थी संगठनमा लिइयो।  

माओवादी  सशस्त्र युद्ध सुरु हुनुअघि म पढ्ने विद्यालयमा झडप हुँदा एकजना प्रहरीको मृत्यु भएको थियो। त्यसपछि त्यहाँ प्रहरी प्रशासनबाट दमन भयो। त्यतिबेला मलाई नेपाल प्रहरीले गिरफ्तार पनि ग¥यो। सात दिनसम्म उँधोमुन्टो लगाएर यातना दिइयो। प्रहरी देखेपछि यसैगरी पिट्छ भन्ने डर लाग्थ्यो। प्रहरीले यातना दिन्छ कि भन्ने ममा त्रास मात्रै हुन्थ्यो। २०५५ सालमा फेरि मलाई पक्राउ गर्न खोजियो, तर म भागें। यसपछि स्वतः भूमिगत भएँ। सक्रियरुपमा पार्टी राजनीतिमा लागें। सिद्धान्त बुझेर भन्दा पनि मेरो पारिवारिक पृष्ठभूमि नै राजनीतिक भएकाले यसमा होमिएको थिएँ। त्यतिबेला हाम्रो गाउँको माहोल नै त्यस्तै थियो।

सशस्त्र युद्धमा लाग्दा म दुईपटक गम्भीर घाइते नै भएको थिएँ। देब्रे कोखा र दाहिने खुट्टामा गरी झन्डै १० ठाउँमा गोलीका छर्राले लागेको थियो, जुन अहिले पनि छ। सानै उमेरमा भूमिगत आन्दोलनमा लागियो। विस्तारै विचार र राजनीति बुझ्दै आएँ। एसएलसीसम्म पनि पढेको थिएन। शान्ति प्रक्रियामा आएपछि आफ्नो औपचारिक अध्ययनलाई जोड दिएँ। त्यसपछि नै एसएलसी दिएको हुँ।

संसदीय अभ्यासमा छिरेपछि मात्रै मैले स्नातकोत्तर तहको अध्ययन पूरा गरें। सँगसँगै अनुसन्धान क्षेत्रलाई पनि अगाडि बढाएँ। अहिले पनि मलाई विभिन्न विषयमा लेखिएका पुस्तक पढ्न मन लाग्छ। आजको दिनसम्म पूर्णकालीन राजनीतिबाट विश्राम लिएको छैन।

कतिपय युवाले संसदीय अभ्यासमा छिर्नका लागि धेरै मिहेनत गर्नुपथ्र्यो, तर मेरो क्षेत्रमा भने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, जो नाताले मेरा काका पनि हुनुहुन्छ, उहाँले नै नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्छ भनेर टिकट हस्तान्तरण गर्नुभएको हो। म आफैं संघर्ष गरेर राजनीतिक कार्यकर्ताका रूपमा स्थापित भएको थिएँ। उहाँको पारिवारिक सदस्य भएकै कारण सांसदको टिकट पाएको भने होइन। राजनीतिमा मेरो पनि योगदान छ, तर उहाँको व्यक्तित्वले मलाई सहज गरायो।

संसदीय अभ्यासमा सुशासनका कुरा पनि छलफलका विषय बन्ने गरेका छन्। सुशासन भन्नेबित्तिकै आर्थिक पारदर्शिताका विषय स्वतः उठ्छन्। हामी जिम्मेवार हुने, व्यवस्था बदलिएसँगै हामीले आफ्नो संस्कार बदल्ने, हाम्रा कार्यशैली बदल्ने कुरा संसदीय अभ्यासभित्र अपुग छन् भन्ने मलाई लाग्छ। मानिसको आदत भनेको त मानिसको आफ्नो निजी सत्ता हो। निजी सत्ता हतपत बदलिन गाह्रो हुन्छ।

यसले एक हिसाबले पुस्तान्तरणको माग गर्दछ। त्यसैले हामीकहाँ सुसंस्कृत हुने, सुशासनलाई जोड दिने, समानतामूलक हुने, संस्कारयुक्त हुनेजस्ता पक्ष समकालीन राजनीति र संसदीय अभ्यासभित्र कमै देखिन्छ। पछिल्लो चरणमा संसदमा विधायिकीको कामभन्दा पनि राजनीति बढी हाबी भयो भन्ने मलाई लाग्छ।

यो पक्षमा संसदमा अझै घनीभूत बहस पैरवी गर्नुपर्ने खाँचो छ। यस्तो छलफल र संवाद कसैको छविमाथि हमलाका लागि र हिलो छ्याप्ने गरी प्रयोग गर्नुभन्दा राम्रो संस्कार स्थापनामा केन्द्रित हुनुपर्दछ।

प्रकाशित: २५ जेष्ठ २०८१ १६:५४ शुक्रबार

Madhav Sapkota Member of the House of Representatives Sindhupalchok-1