राजनीति

मन्त्री चौधरीसँग इजरायली राजदूत गोडरले भने: विपिन छिट्टै रिहा हुन्छन्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले इजरायललाई विपिन जोशीको रिहाका लागि पहल गरिदिन आग्रह गरेकी छिन्।

बिहीवार मन्त्रालयमा नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग भेटवार्ता गर्दै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीको रिहाका लागि पहल गरिदिन आग्रह गरिन्।

मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गरिन्।

उनले नेपालको कृषिको विकासमा योगदान गर्न पनि राजदूत गोडरसँग आग्रह गरिन्।

विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल –इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताइन्।

इजरायल सरकारले नेपाली युवाहरू (खासगरी महिला) लाई केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोप्रति उनले धन्यवाद व्यक्त गरिन्।

यसैबीच भेटका क्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिलिज हुने विश्वास व्यक्त गरे। गोडरले जोशीका परिवारलाई आइतवार भेट्न जाने कार्यक्रम रहेको समेत जानकारी गराए।

प्रकाशित: २४ जेष्ठ २०८१ १२:५९ बिहीबार

#bipin_joshi #bhagwati_chaudhary #henan_goder