राजनीति

गलकोट र बौद्धिकाली उपाधिका लागि भिड्ने

गलकोट गाउँपालिका र बौद्धिकाली गाउँपालिका प्रथम म्याग्दी युवा कप पुरुष तथा खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

बेनीको खुलामञ्चमा बुधबार सम्पन्न पुरुषतर्फको सेमिफाइनलमा गलकोटले बेनी नगरपालिका-९ र बौद्धिकालीले रघुगंगा गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन्।

पहिलो सेमिफाइनलमा गलकोट गाउँपालिकाले बेनी नगरपालिकालाई २५–१६, २५–२१ र २५–२२ को सेटमा पराजित गर्‍यो। दोस्रो सेमिफाइनलमा बौद्धिकाली गाउँपालिकाले रंघुगंगा गाउँपालिकालाई २५–१७, २५–१८ र २५–२३ को सेटमा हरायो।

महिलातर्फको खेलमा भने धादिङ स्पोर्ट्स क्लब फाइनलमा पुगेको छ। धादिङले क्वार्टरफाइनलमा पर्वतलाई ३–१ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५–२२ को जितेको धादिङले दोस्रो सेट भने १८–२५ ले गुमाएको थियो। तर, त्यसपछिका दुई सेट १५–१७ र २५–२३ ले जित्दै धादिङ सेमिफाइनलमा पुगेको थियो।

बुधबार नै सम्पन्न सेमिफाइनलमा धादिङले म्याग्दी भलिबल टिमलाई २५–२०, २५–१७ र २५–१७ ले हरायो।

अर्को खेलमा भने बागलुङ नगरपालिकाले म्याग्दी जुनियर टिमलाई क्वार्टरफाइनलमा ३–२ को सेटमा पराजित गर्‍यो। 

बागलुङले पहिलो सेट २२–२५ ले गुमाएको थियो। तर, दोस्रो सेट भने २५–२० ले जित्दै पुनरागमन गर्‍यो। तेस्रो सेट भने २१–२५ ले गुमाएको बागलुङले चौथो सेट २५–१७ ले जित्दै  खेल २–२ को स्थितिमा ल्याएको थियो।

अन्तिम तथा निर्णायक सेटमा पनि बागलुङ हाबी भयो र १५–१३ ले जित्दै सेमिफाइनलमा स्थान बनायो। सेमिफाइनल खेल बुधबार नै हुने तय थियो। तर, बागलुङ र मालिका युवा क्लबबीचको खेल खराब मौसमका कारण स्थगित गरिएको थियो।

पुरुषतर्फको उपाधि विजेताले दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीयले एक लाख २० र तृतीयले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

महिलातर्फ प्रथम हुने टोलीले ८० हजार, द्वितीयले ४० हजार, तृतीयले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रकाशित: १६ जेष्ठ २०८१ २२:५७ बुधबार