राजनीति

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा  गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले जिम्मेवारी पाएका छन्।

सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्। राज्यमन्त्रीहरुमा  सिर्जना राईलाई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस अघि वैशाख २७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेतिलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए।  

प्रकाशित: ४ जेष्ठ २०८१ १७:४१ शुक्रबार

#Koshi province