राजनीति

राप्रपाले भन्यो: उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा जोड दिएका छन्।

गृहमन्त्री लामिछानेको सहकारी ठगी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै आएको नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लगायतका प्रतिपक्ष दलहरुको बैठकमा राप्रपाले सो कुरामा जोड दिएका हुन्।

गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्छ भन्ने कुरा आफूहरुले बैठकमा राखेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए। 

शुक्रवार संसद भवन परिसरमा काँग्रेससहितका विपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूहरुले संसदीय छानविन समिति बनाएर सहकारी ठगी छानविन गर्नुपर्ने कुरा राखेको बताए।

उनले भने, ‘सरकारले वातावरण सहज बनायो भने राप्रपाको तर्फबाट हामीले गृहमन्त्रीलाई बोल्नु दिनुपर्छ भन्ने भन्नेकुरा त्यो बैठकमा राखेका छौं। र हामीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ। तर छानविन समिति बन्ने कुरामा हामी पछाडि हट्दैनौं। किनभने यो विषयवस्तु आज एक जना गृहमन्त्रीको मात्रै होइन। विषयवस्तु के हो भने समग्र देशका सहकारीहरुका कारण आज हजारौं जनता, लाखौँ जनता सडकमा अलपत्र छन। कसैले साग बेचेर, कसैले मकै पोलेर, कसैले बिहान, बेलुका आफ्नो रोजीरोटी नै खोसेर जम्मा गरेको गरिवको पैसा खाएर आज करोडपति, अर्वपति बनेर, कोही भ्रष्टाचार गरेर देश भित्र बस्ने, कोही देश छोडेर भाग्ने र राज्य व्यवस्था कमजोर बन्ने कानून पनि दुई प्रकारको बनाउने बन्ने नीतिबाट हामी पछाडि नहट्ने छानविन समिति बन्ने र गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने हाम्रो माग छ।’

यस्तै, शाहीले सभामुख देवराज घिमिरेले जबरजस्ती संसद बैठक चलाउन खोजेको आरोप पनि लगाए ।  

प्रकाशित: ४ जेष्ठ २०८१ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App