राजनीति

संसद् चलाउन चार बजेसम्म सहमति जुट्ने सत्तापक्षकाे दाबी

सांसदहरुले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरूका बीचमा सहमति जुट्ने दाबी गरेका छन्।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दलहरूका बीचमा सहमति जुट्न नसक्दा बस्न सकेन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने माग निरन्तर राख्दै आएको छ।

यता सत्तारुढ दल छानबिन समिति बनाउन तयार देखिएको छैन। यसै कारण प्रतिनिधि सभाको बिहानको बैठक बस्न सकेन। सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित गरिएपछि सांसदहरुले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन्।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडी बढ्ने दाबी गरे। उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताए। ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने उनले बताए।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री संसदीय छानबिन समिति गठनमा सकारात्मक देखिएको भएपनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताए।

उनले संसदीय छानबिन समिति गठनको सम्बन्धमा निक्र्यौल निकालेर संसद् चलाउने बाटोमा जानुपर्ने आफूहरुको धारणा रहेको सुनाए।

उनले सरकार संसदीय छानबिन समिति गठन गर्न तयार भएर आएमा बैठक अगाडी बढ्ने बताए। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सांसद खतिवडाले गिरिबन्धु टि-स्टेटमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्बौँ रुपैयाँको नीतिगत भ्रष्टाचार भएको बताए। उनले सो प्रकरणको छानबिन गर्नुपर्ने र कांग्रेसका कोही दोषी भएमा कारबाही भोग्न तयार रहेको उल्लेख गरे।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीले नेपाली कांग्रेससँग संसद्को अवरोध हटाउने सम्बन्धमा अन्तिम पटक छलफल गर्न लागेको जानकारी दिए। उनले कांग्रेससँग सहमति भएर ४ बजेको संसद् खुल्ने दाबी गरे।

संकटग्रस्त सहकारीहरुको छानबिन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिपक्ष दलले उठाएको कुराको सम्बोधन हुनुपर्नेमा जोड दिए। उनले सरकारले समझदारी र समन्वय गरेर समस्याको हल गर्नुपर्नेमा बताए।

नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले पनि ४ बजेसम्म सहमति जुट्नेमा आफू आशावादी रहेको बताए।

संसद् बैठक स्थगित गरेर सभामुख तथा दलका नेताहरू आ–आफू संसद् खुलाउनका लागि छलफल तथा संवादमा लागेका छन्।

प्रकाशित: ३ जेष्ठ २०८१ १४:२६ बिहीबार