राजनीति

नेपाली कांग्रेसद्वारा कोशी प्रदेशसभा बैठक बहिस्कार

नेपाली कांग्रेसले कोशी प्रदेशसभा बैठक बहिस्कार गरेको छ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले वश्विासको मत लिने उद्देश्यसहित बोलाएको प्रदेश सभाको सोमबारको बैठकमा अनुपस्थित हुने जानकारी कांग्रेस संसदीय दलले प्रदेश सभा सचिवालयलाई गराएको हो।

प्रमुख सचेतक गोपाल तामाङले पठाएको पत्रमा वर्तमान सरकार गठनसम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र जेठ ९ गतेका लागि पेसी तोकिएकाले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने उल्लेख छ।

कांग्रेसले मुद्दाको किनारा नलागेसम्म प्रदेश सभाको कुनै पनि बैठक नबोलाउन समेत प्रदेश सभा सचिवालयलाई आग्रह गरेको छ।

प्रदेश सभाका ५२ जना सांसदको समर्थनमा नेकपा (एमाले) संसदीय दलका नेता कार्की गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वान बदरको माग गर्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

प्रकाशित: ३१ वैशाख २०८१ १४:०९ सोमबार

#Koshi province #congress