राजनीति

कांग्रेसले अवरोध कायम राखे शीतल निवासबाटै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सरकारको तयारी

क्याप्शन

नेपाली कांग्रेसले संसद् अवरोध कायम राखे शीतल निवासबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ।  

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार ल्याउने तयारी गरेको छ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राख्दै विरोध गरिरहेको छ। 

सोमबार बसेको कांग्रेस बैठकले छानबिन समिति नबनेसम्म संसदको अवरोध कायम राख्ने निष्कर्ष निकालेपछि सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने वैकल्पिक उपाय खोजेको हो । 

राष्ट्रपति रामचन्द्र पौडेल (Ramchandra Poudel) आफैं उपस्थित भएर सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्परा छ । कांग्रेसले विरोधलाई निरन्तरता दिए राष्ट्रपतिको मानमर्दन हुने बुझाईसहित सरकारले शीतल निवासबाटै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको उच्च स्रोतले बताएको छ ।  

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आइरहेको छ। शुक्रबार पनि कांग्रेसले संसद्मा नाराबाजी गरेको थियो। संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ। 

प्रकाशित: ३१ वैशाख २०८१ १३:५३ सोमबार

#Ramchandra_Poudel #Pushpakamal_Dahal #prachanda #Nithi_tatha_Karyakra #Nepal_Parliament #nepali_congress