राजनीति

पर्यटन मार्फत समृद्धि हासिल गर्न तर्फ लागौँ: सभामुख घिमिरे

फाइल।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनका लागि आज आयोजित समारोहमा सभामुख घिमिरेले राजनीतिक परिवर्तनको आन्दोलन सम्पन्न भएको बताउँदै अब पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताए।

जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरेक क्षेत्रको विकास सम्भव हुने भन्दै स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलले योजना बनाएर लाग्नुपर्ने उनको भनाइ छ।

‘समृद्धिको आधार पर्यटन हो, हिजो सबैभन्दा अपहेलनामा रहेको ठाउँ अहिले आकर्षक बन्ने क्रममा छ, यहाँ गणेशमान पार्क र मनमोहन पार्क बनेका छन्, भएका प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै नभएका कुराहरुको विकास गर्न सकियो भने राजधानी नजिकैको सुन्दर र रमणीय ठाउँ आकर्षणको केन्द्र बन्न सक्छ। गर्मीमा यो चिसो ठाउँमा आएर सुन्दरताको उपभोग गर्नेहरु लालयीत हुन्छन्’, सभामुख घिमिरेले भने।

उनले उद्घाटन भएको भवनबाट जनताको दैनिक सेवासुविधालाई सहज बनाउन गुणात्मक उपलब्धि हासिल होस् भन्ने कामना गरे।

सभामुख घिमिरेले स्थानीय जनताको प्रयत्न र लगनशीलताले मात्रै समृद्धि हासिल हुने बताउँदै आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २९ वैशाख २०८१ १५:४९ शनिबार

#Speaker of the House of Representatives #Devraj Ghimire