राजनीति

चुरे फेदीबाट पूर्व–पश्चिम नहर निर्माणले कृषि क्रान्ति हुन्छः भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले चुरेको फेदीबाट पूर्व–पश्चिम नहर निर्माण गरेर तराई–मधेसमा कृषि क्रान्ति गर्न सके देशमा खाद्यसुरक्षाको दिगो प्रत्याभूति हुने बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार ‘ब्रेक थ्रु’ भएको सुनकोशी मरिण डाइभर्सन सुरुङको स्थगलत निरीक्षणपछि एक्स (ट्विटर) मा धारणा सार्वजनिक गर्दैै यस्तो बताएका हुन्।

‘मेरो पालामा राष्ट्रिय गौरवका योजना घोषणा गर्दा त्यसैलाई प्राथमिकता दिइएको तर अहिलेसम्म तिनको प्रगति मन्द हुनु दुःखद छ’, उनले लेखेका छन्, ‘चुरेको फेदीबाट पूर्व–पश्चिम नहर निर्माण गरेर तराई–मधेसमा कृषि क्रान्ति गर्न सके देशमा खाद्यसुरक्षाको दिगो प्रत्याभूति हुनेछ।’

सुनकोशी–मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणको सफलता सबैका निम्ति खुसीको कुरा रहेको भट्टराईले उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘यस सन्दर्भमा हामीले ध्यान दिनुपर्ने सबभन्दा महत्वपूर्ण कुरा के हो भने जमीन र पानी सबभन्दा ठूलो प्राकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषि क्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार हो।’

तराई–मधेसमा खेतियोग्य जमीन धेरै भएको र पूर्व–पश्चिम महाभारत शृंखला भएर बग्ने कोशी, गण्डकी र कर्णाली नदीका शाखाहरू नै सिँचाइयोग्य पानीको सबभन्दा ठूलो श्रोत भएकाले ती नदीको पानीलाई तराई–मधेसमा डाइभर्सन गर्ने परियोजनालाई नै उच्च प्राथमिकता दिनुपर्ने भट्टराईको तर्क छ ।

प्रकाशित: २७ वैशाख २०८१ १३:४१ बिहीबार

पूर्व–पश्चिम नहर निर्माण कृषि क्रान्ति