राजनीति

विरोधका बिच ३० लाई नै बहुमत मानेर मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा

गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा प्रदेशसभामा भएको छ।

गण्डकी प्रदेश सभा ६० सदस्यीय छ। जसको बहुमत ३१ हुनुपर्ने हो। तर आइतबार विश्वासको मत माग्दा ३० लाई नै बहुमत मानिएको छ। गत चैत २५ गते सभामुखलाई समेत गणना गरेर खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। जसलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले वैधानिकता दिँदै मुख्यमन्त्रीमा नियुक्त गरे।

सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी पेस र त्यसैका आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नियुक्ती खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। तर सर्वोच्चले पाण्डेले मागेजस्तो नियुक्ती खारेज गरेन। बरु सभामुखबाहेक ३० जना सांसद देखिएकाले बहुमत समर्थित देखिएको भन्दै रिट नै खारेज गरिदियो। र भन्यो,'बहुमत रहे, नरहेको विश्वासको मत लिँदा परीक्षण हुन्छ।’

सर्वोच्चले बाटो खोलिदिएपछि गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत मागेका हुन्। जहाँ ३० सदस्यले उनलाई विश्वासको मत दिए। सभामुखले सोही संख्यालाई बहुमत मानेर विश्वासको मत पाएको घोषणा गरे। सर्वोच्चले ६० सदस्यीय प्रदेश सभामा सभामुखबाहेक ५९ सदस्यीय हुने र त्यसमा ३० नै बहुमत समर्थित देखिन्छ भनेर गरेको व्याख्यालाई नै आधार बनाएर सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरे।

विश्वासको मत पाएको घोषणा गरिरहँदा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले विरोध गरे। कांग्रेस सांसदहरु विरोध गर्दै सभामुखको लबीमा प्रवेश गर्न खोज्दा मर्यादा पालकहरूले रोकेका थिए। मर्यादा पालकहरूले रोकेपछि कांग्रेस सांसदहरूले घोषणाविरुद्ध विरोध गर्दै नाराबाजीमा उत्रिए। तर सभामुख धिताल त्यतिमा रोकिएनन् र हतारहतार विश्वासको मत पाएको घोषणा गर्दै प्रदेश सभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको घोषणा गरे।

अधिकारी सत्ता गठबन्धन एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत दिए। विपक्षमा नेपाली कांग्रेसका २७ जनाले मतदान गरे भने राप्रपाका २ सांसद तटस्थ बसे।

विश्वासको मत दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ह्विप नै जारी गरेका थिए। यसअघि गण्डकीका मुख्यमन्त्री अधिकारीले राजनीतिक स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरे। आफू सामाजिक न्यायसहित विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै यसलाई साकार पार्न पनि आफूलाई विश्वासको मत दिन उनको आग्रह थियो।

विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्णप्रसाद धिताललाई दलीय पक्षधरता नलिन चेतावनी दिए। सभामुख धितालले दलीय पक्षधरता लिने खतरा रहेको आशंका गर्दै उनले भने,'सभामुखले आफ्नो निर्णय गर्दा संविधानमा लेखिएको कुरा ख्याल गर्नुहोला, सभामुख भनेको कुनै दलीय पक्षधरता नलिने हो, तटस्थ बस्नुपर्छ। मेरो अनुरोध छ, यहाँ पनि तटस्थ बस्नुहोला।’ उनले दलीय पक्षधरता नलिन गरेको आग्रहलाई अटेर गरे कुनै दिन सभामुखले रोष्ट्रमको कठघरामा उभिएर जवाफ दिनुपर्ने दिन आउन सक्ने चेतावनी दिए। त्यो भनेको उनले घुमाउरो भाषामा महाअभियोग लगाउने भन्ने सङ्केत थियो।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले वर्तमान सरकारले विश्वासको मत नपाए प्रदेश सभा विघटन हुने खतरा रहेको बताए। वर्तमान सरकारले विश्वासको मत नपाए अस्थिरता निम्तिने र त्यही कारण प्रदेश सभा विघटन हुने उनको तर्क थियो।

६० सदस्यीय गण्डकी प्रदेश सभामा वर्तमान सत्ता गठबन्धनसँग एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे गरेर ३१ मत छ।

प्रकाशित: २३ वैशाख २०८१ १८:३९ आइतबार

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी