राजनीति

सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।  

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए। 

प्रकाशित: २० वैशाख २०८१ १५:२३ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष केपी शर्मा ओली