राजनीति

एमाले उत्साहित

इलाममा आयोजित विजयी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली। तस्बिर: रासस

इलाम र बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमाले उत्साहित भएको छ। ‘मिसन २०८४’ को नारा लिएर ‘मिसन ग्रास रुट अभियान’ र ‘मध्यपहाडी पदयात्रा’ गरेको एमालेलाई उपनिर्वाचनमा हासिल उपलब्धिले उत्साहित बनाएको हो।

इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचन परिणामबाट गठबन्धन नहुँदा पनि एमालेले सकारात्मक परिणाम ल्याउन सक्ने संकेत मिलेको छ। २०७९ सालको संसदीय निर्वाचनमा पनि इलाममा कांगे्रस र माओवादीको गठबन्धन हुँदा एमालेले नै परिणाम आफ्नो हातमा पारेको थियो। त्यसबेला इलाम–२ बाट सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए।

तर अहिले गठबन्धन फेरिएको अवस्थामा खासै फरक अवस्था नदेखिने गरी निर्वाचन जितेको छ। यसले गर्दा एमालेले आफ्नो संगठनलाई चुस्तदुरुस्त राख्न सकेको देखिएको छ। प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजय भोगेका कांग्रेस इलाम सभापति डम्बर खड्का यसपटक सुहाङ नेम्वाङसँग प्रतिस्पर्धामा उत्रेका थिए।

सुहाङ सुवासका छोरा हुन्। तर उनले यसपटक पनि जित हात पार्न सकेनन्। एमाले उम्मेदवार सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए। कांग्रेसका खड्काले २१ हजार ९४२ मत ल्याए।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ११ हजार ४५७ मत आयो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का मिलन लिम्बूको जमानत जफत भयो। लिम्बूले ५ हजार ५० मत मात्रै प्राप्त गरे। जसले गर्दा एमालेलाई भविष्यमा चुनौती दिने कांग्रेसबाहेक पहिचानका नाममा उठेका समूहहरू मात्रै छन् भन्ने देखिएको छ।

एमालेले यसपटक आफू पहिचानविरोधी होइन भन्ने विषयलाई पनि इलाममा राम्रोसँग विश्लेषण गरेको छ। २०७९ फागुन १४ब्ःएब्ल्म्एभ्च्४४लदकउसमा प्रदेशसभाले प्रदेशको नाम कोसी राखेपछि उक्त प्रदेश अशान्त छ।

पहिचान पक्षधरले कोसी प्रदेश नाम खारेजीको माग गर्दै आएका छन्। उनीहरूले ‘प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ बनाएरै आन्दोलन गर्दै आएका छन्। उनीहरूले कोसी प्रदेशको नामकरणको विषयमा उठाएको प्रश्नमा उनीहरूले नै कोसी सरकारसँग गरेको सम्झौतामा टेकेर एमाले पहिचानविरोधी होइन भन्ने जानकारी मिहीन ढंगले गराएको थियो।

एमाले नेत्री शिवमाया तुम्बाहाम्फे आफैंले यो विषयमा प्रस्ट पार्दै सुहाङ नेम्वाङ र एमालेलाई मत मागेकी थिइन्। उनले पहिचान पक्षधरका तर्फबाट २०८० माघ २६ गते कोसी प्रदेश सरकारसँग सहमति गर्ने डकेन्द्र थेगिमले हस्ताक्षर गरेको पाँच बुदे सहमतिको पहिलो बुँदामा उल्लेख भएको व्यहोराले एमाले पहिचानविरोधी नरहेको स्पष्ट पारिन्। उक्त बुँदालाई देखाएर ‘एमाले कहाँनिर पहिचान विरोधी भयो’ भन्दै उनले समग्रमा एमालेले राखेको धारणा र पहिचान पक्षधरले गरेको सहमति एकै रहेको बताएकी थिइन्।

सहमतिको पहिलो नम्बरको बुँदामा ‘प्रदेशको पुनः नामांकन सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार र आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने’ भन्ने उल्लेख छ। त्यसमा हस्ताक्षर गर्ने थेगिम पहिचानको पक्षधर भन्दै इलामको २ मा उम्मेदवार बनेका थिए।

कोसी प्रदेशको नामकरणपछि पहिचानका नाममा एमालेका नेताहरू तारो बनेका थिए। २०७९ फागुन १७ पछि पहिचान पक्षधरहरू एमालेविरुद्ध खनिएका थिए। उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओली चढेको गाडीमा इलाममै आक्रमण गरेका थिए।

सचिव योगेश भट्टराई, प्रदेश संसदीय दलका नेता हिक्मत कार्की र उपनेता राम रानामाथि पहिचान पक्षधरले पटकपटक आक्रमण प्रयास गरे। तत्कालीन सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौं पेप्सीकोलास्थित घरमा आक्रमण भयो।

इलाम २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य रानामाथि कुटपिटको प्रयास भएको थियो। प्रदेशको नाम कोसी राख्ने प्रस्तावका प्रस्तावक बसेकाले रानामाथि पहिचान पक्षधरले आक्रमण गरेको थियो। त्यति हुँदा पनि एमालेले नै उठाएको विषयमा सहमति गरेपछि चर्को आक्रोशलाई एमालेकै नेताहरू उपनिर्वाचनको बेला मत्थर पार्न सफल भएका थिए।

कोसी नाम राख्ने प्रदेशसभाका सबै प्रदेशलाई निषेध गर्ने निर्णय भए पनि पहिचान पक्षधरहरूले एमालेबाहेकका दलप्रति तुलनात्मक नरम व्यवहार देखाएका थिए।  

विगतको अवस्था हेर्ने हो भने पनि इलाममा एमाले बलिायो देखिएको छ। प्रतिनिधिसभाको चुनाव २०७९ सालमा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत पाउँदा कांग्रेसका डम्बरबहादुर खड्काले माओवादी केन्द्र र नेकपा एसको समेत जोडेर २९ हजार ९०६ मत पाएका थिए।

समानुपातिकतर्फ भने एमालेले २६ हजार ५६२ मत मात्रै पाएको थियो। यसको अर्थ त्यतिबेला सुवास नेम्वाङको व्यक्तित्वले ४ हजार भोट बढी तानेको देखिन्थ्यो। कांग्रेसको पनि प्रत्यक्षमा भन्दा समानुपातिकमा कम भोट खसेको थियो।

कांग्रेसले प्रत्यक्षमा २९ हजार ९०६ भोट पाउँदा समानुपातिकमा २२ हजार ३३३ मत मात्र खसेको थियो। इलाम २ बाट माओवादी केन्द्रले २०७९ सालमा समानुपातिकतर्फ ५ हजार १५३ मत पाएको थियो। नेकपा एकीकृत समाजवादी (नेकपा एस) को समानुपातिक मत ५८६ मात्रै थियो।

यहाँ जनता समाजवादी पार्टी (जसपा) को प्रत्यक्षतर्फ ७२४ मत थियो भने समानुपातिकमा उसले ९०६ मत ल्याएको थियो। अहिले जसपाको समर्थन पहिचानवादीलाई थियो। २०७९ सालको चुनावमा इलाम–२ मा कुल १ लाख १५ हजार ३४२ मतदाता थिए।

अहिले त्यसमा ४२२ मतदाता थपिए। २०७९ सालको समानुपातिक मतलाई हेर्ने हो भने एमाले बलियो अवस्थामा देखिएको छ। माओवादी केन्द्रले समर्थन गरेको भए पनि एमालेको सभामा माओवादी केन्द्रका कुनै पनि नेताले सम्बोधन गरेनन्।

२०८० फागुन २१ मा सत्ता गठबन्धनमा आएको परिवर्तनपछि एमालेले उपनिर्वाचनको उम्मेदवार तय गरेको थियो। एमालेले सत्ता साझेदार दलहरूसँग छलफल नगरी दुवै क्षेत्रको उम्मेदवार चयन गरेपछि माओवादी केन्द्र र नेकपा एस अलमलमा परेका थिए।

 इलाममा सुहाङ र बझाङमा दमनबहादुर भण्डारी उम्मेदवार बनाउने निर्णय लिँदा माओवादी केन्द्रले बाध्यतावश इलाममा सहयोग गर्ने निर्णय लियो भने नेकपा एसले दुवै स्थानमा आफ्नो उम्मेदवार उठायो। जसपाले त इलाममा पहिचान पक्षधर उम्मेदवार थेगिमलाई सहयोग गरेको थियो।

रास्वपाले त्यतिबेला समानुपातिकमा ४ हजार ६८६ मत ल्याएको थियो अहिले मिलन लिम्बू आफैं त्यस पार्टीबाट उठ्दा पाँच हजार मत ल्याए। पहिलाको तुलनामा रास्वपाको मत केही मात्रामा बढेको देखिन्छ।

यस क्षेत्रबाट गत चुनावमा रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३८० मत मात्रै पाएका थिए। तर समानुपातिकतर्फ भने घण्टीमा ४ हजार ६८६ मत परेको थियो।

कांग्रेसले पनि अपेक्षाकृत मत हासिल गर्न नसकेको अवस्था छ। २०७९ को निर्वाचनमा इलाम २ बाट एमालेका सुवास नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। दुवैको निधन भएपछि सम्पन्न उपचुनावमा एमालेले इलामको आफ्नो सिट कायम राखेको छ भने बझाङबाट प्रदेशसभामा एक सिट थपेको छ।

हुन त यसअघि तनहुँको निर्वाचनमा रास्वपाले एक सिट थपेको थियो। उपनिर्वाचन राष्ट्रिय राजनीतिमा ठुलो असर र प्रभाव नपारे पनि आगामी दिनमा राजनीतिक दलको प्रभाव मूल्यांकन गर्ने एउटा कसी भने बन्न सक्नेछ।

इलाममा माओवादी केन्द्रले साथ दिएको भनिए पनि बझाङमा भने एमाले, कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले आफ्नो हैसियत मापन गरेका थिए। त्यसमा एमालेले सबैलाई उछिनेको थियो। उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भए।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सिट सुरक्षित गरे। एमालेका भण्डारीले ११ हजार ६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११ हजार ३४३ मा रोकिए। दुईजना बीचको मतान्तर २६६ छ।

हारजितमा यो मत झिनो भए पनि एमालेले आफूलाई अब्बल ठहर गर्‍यो। त्यहाँ माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याए।

प्रकाशित: १९ वैशाख २०८१ ०६:४९ बुधबार

एमाले उत्साहित इलाम र बझाङमा भएको उपनिर्वाचन ‘मिसन २०८४