राजनीति

हेटौंडा नै स्थायी राजधानी हुनेः अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै।तस्बिर : रासस

हेटौँडा –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताएका छन्। 

प्रेस सेन्टर मकवानपुरले बुधबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताए।
 
अध्यक्ष दाहालले प्रदेशको राजधानीका सबै कामहरु शुरु भइसकेकाले हेटौँडाबाट राजधानी सार्ने हल्लापछि नलाग्न सबैमा आग्रह गर्दै प्रदेशको नामको सन्दर्भमा प्रदेशसभाले निर्णय गर्ने विषय रहेको बताए। 

‘यो वर्ष निर्वाचन वर्ष’ रहेको र अब आर्थिक समृद्धिको समय रहेकाले यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको छ, उनले भने–“सरकारले परिणाममुखी काम गर्नका लागि मुख्य र राष्ट्रिय विषयमा प्रतिपक्षसँग पनि समझदारीको वातावरण बनाएको छ।” 

अध्यक्ष दाहालले अहिलेको मुख्य चुनौती भनेको सुशासन, स्थायित्व र विकासलाई गति दिनु नै हो भन्दै प्रदेशको कामलाई तीव्रता दिन ऐन बनाउने कामको गति बढिरहेको बताए। 

अध्यक्ष दाहालले सरकारमा दुई तिहाईको बहुमत पुगिसकेको अवस्था रहेपनि समग्र विकासको गति बढाउन र राजनीतिक स्थायित्वका लागि मधेसकेन्द्रित दलकोसमेत समर्थन पाइसकेको जानकारी दिए। 

नेकपा एमाले र माओवादी केन्द्रको एकता अबको केही दिनमा नै हुने बताउँदै उनले एकता प्रक्रिया पूरा गर्नका लागि बनेको कार्यदलले आफ्नो काम पूरा गरी प्रतिवेदन बुझाउने तयारीमा रहेको छ भने।  

प्रकाशित: ७ चैत्र २०७४ ०७:१७ बुधबार