राजनीति

राष्ट्रिय विकास परिषद्को बैठक बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिइने

राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बस्ने बैठक बिहान ८ बजे होटल याक एन्ड यतिमा सुरु हुनेछ।

राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामाथि छलफलका लागि बैठक बोलाइएको हो। बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिने तयारी गरिएको छ।

बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालसहित पूर्वप्रधानमन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बैठकको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको मस्यौदा प्रस्तुत गर्नेछन्। त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिनेछन्।

उद्घाटन सत्र समापन भएपछि विषयक्षेत्रगत छलफलको सत्र सुरु हुने बताइएको छ। छलफलमा विभिन्न क्षेत्रका विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रकाशित: १३ वैशाख २०८१ ०६:५८ बिहीबार

राष्ट्रिय योजना आयोग पुष्पकमल दाहाल राष्ट्रिय विकास परिषद् आवधिक विकास योजना