राजनीति

हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन्।

सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरु नरहेको जिकिर गरे। उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको सुनाए।

‘अहिले कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको सुरुवात भएको छ। जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर मिलेको छ।  जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुन्छ।’ उनले भने।

उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणमा इमान्दार भएर लाग्नु आजको आवश्यकता भएको जिकिर गरे।

प्रधानमन्त्री दाहालले समृद्धिको जनताको आकांक्षा, सामाजिक न्याय, सुशासनको आकांक्षालाई महशुस हुनेगरी काम गर्न आवश्यक रहेको बताए। 

प्रकाशित: १० वैशाख २०८१ १४:५१ सोमबार