राजनीति

धर्म गुरुसँग आशीर्वाद लिन आश्रम पुगे डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आज किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रम पुगेका छन्।

उपनिर्वाचनको प्रचारका लागि इलाम-२ पुगेका कोइरालाले आज इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरे।

गिरिजाप्रसाद कोइराला ३ पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने ‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन। माओवादी द्वन्द्व समाधान गर्न तपाईँले निकै राम्रो भूमिका खेल्नुभयो। अब एक पटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईँको साथमा छु।’

जवाफमा नेता कोइरालाले आफू यति बेला सबै भन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए। कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए।

डा. कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे।

प्रकाशित: ४ वैशाख २०८१ १४:५३ मंगलबार